जाजरकोट , ९ फागुन (रासस)
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गर्नुभएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौरदेखि छेडागाड नगरपालिका–३ दशेरासम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्गसँग जोडिएको पश्चिम जाजरकोटमा मन्त्री बस्नेतले मध्यपहाडी लोक मार्गका साथै जाजरकोट–जुम्ला जोड्ने सडकको निरीक्षणसमेत गरिएको छ ।
मन्त्री बस्नेतको सडक निर्माण तथा विद्युतीकरण चुनावी नारा रहेको थियो । अहिले मध्यपहाडी लोकमार्गको सडक निर्माण तीव्र बनाएको समयमा मन्त्री बस्नेतको स्थलगत निरीक्षण तथा स्थानीय जनताको गुनासो सुन्दै आउनुभएको छ । सङ्घीय सरकारबाट छुट्याइएको रकम र स्थानीय तथा प्रदेश सरकारबाट विनियोजन गरिएको बजेटबाट प्रतिफल अर्थात् नतिजासमेत विश्लेषण गर्न मन्त्री बस्नेत यहाँ पुगेको बताउनुभयो ।
मन्त्री बस्तेतलाई स्थानीयवासीले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । कच्ची सडक छिटो पिच गरी व्यवस्थित बनाउनसमेत आग्रह गरेका छन् । अनुगमण तथा निरीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्ण शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडी, राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य करवीर शाहीको समेत सहभागीता रहेको छ ।
प्रजिअ जनकराज पन्तलगायत जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखलाई सडक अनुगमणमा सहभागी गराएको छ । जिल्लाको विकास निर्माणमा ध्यान दिन र जनताको गुनासो तत्काल सुनुवाइ गर्न मन्त्री बस्नेतले सरकारी निकायलाई निर्देशनसमेत दिनुभएको छ ।