neapl investment mega bank
  • गृहपृष्ठ
  • एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा

Feb 20th, 2020

कञ्चनपुर, ८ फागुन (रासस)

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधवार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताउनुभयो ।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । “एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ”, सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ ।” उहाँले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताउनुभयो । निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उहाँले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उहाँले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिइ पर्यटन प्रवद्र्धन गरिनुपर्ने उहाँले बताउनुभयो । सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने बताउँदै मन्त्री बाँस्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने बताउनुभयो ।