neapl investment mega bank
  • गृहपृष्ठ
  • राससको औचित्य र आवश्यकता झन् बढ्दो छ: प्रधानमन्त्री

राससको औचित्य र आवश्यकता झन् बढ्दो छ: प्रधानमन्त्री

Feb 19th, 2020

काठमाडौँ, ७ फागुन (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस) को राससको औचित्य र आवश्यकता झन्झन् बढिरहेको जनाउनुभएको छ । राससको ५९औँ वर्ष प्रवेशका अवसरमा आज सन्देश दिँदै उहाँले राज्यको साझा समाचार समितिका रुपमा सकारात्मक प्रभाव विस्तार गर्दै आफूलाई सञ्चारमाध्यमको अनिवार्य मुहान बनाउन रासस सफल होओस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राज्यले जनताका लागि चालेका सामाजिक–आर्थिक गतिविधिलाई तल्लो तहसम्म पु¥याउन र जनताका आवाजलाई राज्यसम्म सम्प्रेषित गर्न राससलगायत सबै सञ्चारमाध्यमसँग आग्रह पनि गर्नुभएको छ ।

“जनताको अनवरत सङेघर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न राससले निर्वाह गरिरहेको भूमिका उल्लेखनीय छ । सबै सञ्चारमाध्यमको मुहानका रुपमा यसले राज्य र जनताका क्रियाकलापलाई समाचार, तस्वीर एवं श्रव्य सामग्री उपलब्ध गराई पु¥याइरहेको सेवा प्रशंसनीय छ”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “मुलुकमा सञ्चारमाध्यमको बहुविधा विस्तारित भइरहेको परिप्रेक्ष्यमा राससजस्ता राज्यका समाचार संस्थाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र रूपमा प्रवाह गरी आमजनतालाई सुसूचित गराउनुपर्दछ । नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रको आकाङ्क्षा, सङ्कल्प र कार्यदिशालाई रचनात्मक ढङ्गले प्रवाह गर्न राससले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मेरो अपेक्षा छ ।”

राससबाट लोकतान्त्रिक प्रणाली, सुशासन र विकासप्रति सिर्जनशील जनमत निर्माण गर्न सहयोग पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक स्थायित्व, तीव्र र दिगो विकास र सुशासनको सिलसिला अघि बढेकाले नेपालको अन्तरराष्ट्रिय सम्बन्धमा पनि नयाँ आयाम थपिएको जनाउनुभयो । उहाँले भन्नुभएको छ, “विश्वमा हाम्रो प्रतिष्ठापूर्ण चिनारी बन्दैछ । डाभोस फोरम तथा कोष्टारिकाको संयुक्त राष्ट्रसङ्घीय शान्ति विश्वविद्यालयमा भएको हाम्रो प्रस्तुतिले नेपाललाई विश्वमञ्चमा सम्मानपूर्ण स्थान दिलाएका छन् । यो हाम्रो निरन्तरको प्रयासको परिणाम हो ।”

उहाँले स्वदेश तथा विदेशमा समेत आफ्नो कार्यसञ्जाल भएको राससले राज्य एवं सरकार र जनताबीच अझ बलियो सेतुका रूपमा राष्ट्र एवं राष्ट्रियतालाई अझ सुदृढ गर्दै विश्व मानचित्रमा सार्वभौमसत्तासम्पन्न नेपालको समृद्ध र स्वाभिमानी पहिचान बनाउन योगदान दिन सकोस् भन्ने कामना गर्नुभएको छ ।

‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने महाभियानलाई सार्थक सहयोग पु¥याउने गरी राससलाई सूचना प्रविधिको उच्चतम प्रयोग गरेर आफ्ना सेवाको प्रभावकारिता विस्तार गर्न आग्रह गर्दै उहाँले परम्परागत व्यवस्थापन पद्धतिबाट यसो गर्नु सम्भव नहुने भएकाले रासस सेवालाई संविधानअनुकूल समयसापेक्ष रूपमा परिमार्जन गर्दै विविधीकरणतर्फ लैजानु आवश्यक भएकामा पनि जोड दिनुभएको छ । राससले निकट भविष्यमा एकीकृत समाचार सेवा प्रवाह गर्न श्रव्यदृश्य सेवासमेत सञ्चालन गर्न लागेको जानकारी पाउँदा आफूलाई खुशी लागेको जनाउँदै सन्देशमा नेपाल सरकार राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउन सदैव प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रधानमन्त्री ओलीले राससले राज्यका सबै पक्षका सुभावना मुखरित गर्दै आफूलाई अनिवार्य सञ्चारमाध्यम बनाउने सफलता पाओस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।