neapl investment mega bank
  • गृहपृष्ठ
  • अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ : उपप्रम

अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ : उपप्रम

Feb 18th, 2020

अर्जुन भुसाल
काठमाडौँ, ६ फागुन (रासस)

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताउनुभएको छ ।

युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताउनुभयो । “राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।”

उहाँले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिनुभयो । “देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ”, उहाँले भन्नुभयो, “नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ ।”

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा ३०÷४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताउनुभयो । उहाँले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताउनुभयो । उहाँले युद्धप्रसादलाई नेपालको प्रथम गणतन्त्रवादी कवि घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया पु¥याई विधिसंवत् ढङ्गले सरकारसमक्ष आउन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

पोखरेलले युद्धप्रसादका नाममा रहेको अक्षयकोषमा रकम वृद्धि गर्नमा र उहाँको नाममा कुनै आयोजना निर्माण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसाललाई रु २० हजारसहित ‘युद्धप्रसाद स्मृति पुरस्कार’बाट पुरस्कृत गरियो । रिसालले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने विषयमा वर्तमान सरकार गम्भीर देखिएको छ भन्दै यस विषयलाई टुङ्गोमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । उहाँले युद्धप्रसाद जस्तो निष्ठावान् व्यक्तिका नाममा रहेको सम्मान थाप्न पाउँदा हर्षले गद्गद् भए पनि उहाँजस्तो व्यक्ति बन्न नसकिएको बताउनुभयो । प्रा डा पशुपतिनाथ तिमल्सेनाले युद्धप्रसादका बारेमा नेपाली समाजले जान्नुपर्ने धेरै विषय रहेको औंल्याउँदै निरङ्कुश राजतन्त्रका विरुद्ध निरन्तर कलम चलाउने उहाँ एक मात्र कवि रहेको जिकिर गर्नुभयो ।

“उहाँका कविता उत्पीडन र दमनका विरुद्ध हुने गर्थे”, उहाँले भन्नुभयो, “कविताको केन्द्रीय चुरो अधिनायकवादी राजतन्त्रमाथि हुन्थ्यो ।” उहाँले युद्धप्रसाद स्वच्छनदतावादी कवि रहेको टिप्पणी गर्दै उहाँबाट अहिलेका पुस्ताले धेरै सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले विज्ञान दर्शनमा कविता लेख्ने युद्धप्रसाद प्रगतिवादी साहित्यको शिखर पुरुष रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, पूर्वअध्यक्ष त्रिरत्न शाक्यलगायतले मिश्रले बोकेको विचारलाई सबैले अवलम्बन गरी नेपाली समाजलाई सभ्यतायुक्त बनाउनुपर्ने बताउनुभएको थियो ।