आधारभूमी संवाददाता
काठमाडौं,फागुन ६
सरकारले देश भित्र आउने मुलुकको तुलनामा जाने रकम बढेपछि विदेशी मुद्रा सटहीमा कडाई गरेको छ । तर पनि सेवा खाता भने अहिलेपनि घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सेवा आय ४ अर्ब ४६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९ अर्ब ४५ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १४.२ प्रतिशतले वृद्धि भई ४२ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३७ अर्ब ४२ करोड रहेको थियो ।
त्यसैगरि सेवा खाता अन्तर्गत यो ६ महिनामा भ्रमण व्यय २१.७ प्रतिशतले घटी ३७ अर्ब ५९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको खर्च १७ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ९९ करोड रहेकोमा शिक्षातर्फको खर्च २५ अर्ब ५९ करोड रहेको थियो ।
त्यसैगरि गत वर्ष सम्म बढ्दै गएको ब्यापार घाटामा यो वर्षदेखि भने केहि संकुचन आएको छ । यो आर्थिक वर्ष २०७६/७७ को ६ महिनासम्ममा वस्तु व्यापार घाटा ६.१ प्रतिशतले संकुचन भई ६ खर्ब ३७ अर्ब ४१ करोडमा सिमित भएको छ । जबकी गत वर्षको यही अवधिमा व्यापार घाटा ३२.० प्रतिशतले वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई .५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु आयात ४.० प्रतिशतले घटेर रु.६९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।