इस्लामावाद, ४ फागुन (रासस/एएनआई)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आउनु भएको छ ।
उहाँ आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
महासचिवमा निर्वाचित भएपछि उहाँको पाकिस्तान भ्रमण पहिलो पटक भएको हो । भ्रमणका क्रममा उहाँले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेश मन्त्री मोहमद कुरेशीलाई पनि भेट्नु हुनेछ ।
भेटका क्रममा उहाँहरुका बीचमा मुख्य गरेर जलवायु परिवर्तनको बारेमा छलफल हुने बताइएको छ । उहाँहरुको भेटवार्ता आइतबार नै हुने तालिका छ ।
राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले सोमबार अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । अफगान शरणार्थीका बारेमा पाकिस्तान सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (युएनएचसिआर) ले संयुक्त रुपमा आयोजना गरेको ४० औँ वार्षिक कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुहुने भएको हो । सम्मेलनमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी पनि सहभागी हुनु हुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।
महासचिव गुटेर्रेसले स्थानीय विद्यार्थीहरुलाई भेट्ने गरी पाकिस्तानको अर्को ठूलो सहर लाहोरको पनि भ्रमण गर्नुहुने भएको छ ।
उहाँ यही फेब्रुअरी १९ तारिखमा राष्ट्रसंघीय मुख्यालय न्युयोर्क फर्किनु हुनेछ ।