पोखरा, ३ फागुन (रासस)
पोखरा नगर रेष्टुराँ एण्ड बार एशोसिएशन (सिटी रेवान)द्वारा आयोजित आठौँ संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’मा लोपोन्मुख खानाका परिकारका साथै कृषि प्रदर्शनी गरिने भएको छ ।
यही फागुन २३ देखि २५ गतेसम्म पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव गर्न लागिएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सवका मुख्य आकर्षणमा खानाका परिकार रहने जानकारी दिँदै उहाँले उक्त अवसरमा लोप हुन लागेका खानाका परिकार, हस्तकला आदिका स्टल एवं कृषि प्रदर्शनीसमेत गरिने बताउनुभयो । महोत्सवका सहभागीले राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिन पाउने छन् ।
स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा गर्न लागिएको महोत्सवमा जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायतको साथ र सहयोग हुने आयोजकले जनाएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा गर्न लागिएको महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास लिइएको तिमल्सिनाले बताउनुभयो ।