किभ, ३ फागुन (रासस/एएफपी)
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिरबीच टेलिफोन कुराकानी भएको छ ।
उहाँहरूबीच कैदी साटासाट गर्ने बारेमा कुराकानी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
केही महिना अगाडि उहाँहरूबीच भएको सहमतिअनुसार दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई क्रमिक रूपमा रिहा गर्ने बारेमा अहिले छलफल भएको हो ।
फ्रान्सको राजधानी पेरिसमा भएको वार्तामा दुवै देशका राष्ट्रपतिले युद्धविराम गर्ने सहमति गरेका थिए ।
फ्रान्स र जर्मनीका नेताको मध्यस्थतामा रुस र युक्रेनका बीचमा भएको युद्ध अन्त्य गर्ने प्रयास भइरहेको छ ।
युक्रेनको पूर्वी क्षेत्रमा युक्रेनका सुरक्षाकर्मी र रुसको साथ पाएको बिद्रोही समूहबीच पाँच वर्षदेखि भएको युद्धका कारण १३ हजार मानिसको मृत्यु भइसकेको छ ।
दुई नेताबीचको अहिलेको कुराकानीमा अर्को बैठक तत्काल गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अघिल्लो बैठकमा भएका सहमति कार्यान्वयतर्फ लैजाने प्रतिबद्धता जनाउँदै उहाँहरूले कुराकानी टुङ्ग्याउनु भएको थियो ।
उहाँहरूबीचको टेलिफोन कुराकानीका बारेमा रुसी राष्ट्रपतिको कार्यालयले भने कुनै जानकारी दिएको छैन ।