neapl investment mega bank

भारतबाट तीन नेपाली बालकको उद्धार

Feb 14th, 2020

चन्द्रौटा, २ फागुन (रासस)

भारतको गोरखपुरमा दुई वर्षदेखि अलपत्र रहेका तीन नेपाली बालकको उद्धार गरिएको छ । शान्ति पुनस्र्थापन गृहले नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरेको हो । दाङको घोराही उपमहानगरपालिकाका १० वर्षीय रामु पुन, प्यूठान ऐरावती गाउँपालिकाका १२ वर्षीय दिलीप जिसी र १४ वर्षीय केशव जिसीलाई भारतबाट उद्धार गरिएको हो ।

दुई वर्षअघि बेपत्ता भएका बालक कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा गोरखपुरमा फेला पारिएको थियो । दिलीप र केशव साथीहरुको लहलहैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो । तिनै जनालाई कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । संस्थाले एक वर्षको अवधिमा १३ बालबालिकालाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थीले बताउनुभएको छ ।