neapl investment mega bank
  • गृहपृष्ठ
  • पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा

Feb 14th, 2020

परासी, २ फागुन (रासस)

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

“सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो । अहिले ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो बच्चालाई स्तनपान गराउन सहज भएको छ”, उहाँले भन्नुभयो ।

झट्ट सुन्दा र देख्दा सामान्य जस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव ठूलो रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले बताउनुभयो । “खुला ठाउँमा स्तनपान गराउन महिलालाई असहज हुँदा बच्चाले समयमा स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।

बर्दघाट नगरपालिकाले २०७६ चैतभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ । बालअधिकारसँग पनि स्तनपान कक्षको महत्व जोडिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ले हरेक सार्वजानिक निकायमा अनिवार्य स्तनपान कक्ष स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ ।