neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’

सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’

Feb 14th, 2020

–सिबी अधिकारी
काठमाडौँ, २ फागुन (रासस)

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

वर्तमान सरकार गठन भएको दुई वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुर्ननिर्माणको कामलाई तीव्रता दिएको हो ।

विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालिसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारीरूपमा अघि बढाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा २०७४ फागुन ३ गते वर्तमान सरकारको नेतृत्व लिनुभएको थियो । समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सार्नुभएका प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएर यसको विकास विस्तारमा जोड दिनुभएको छ ।

सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रमा पनि नेपालको पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा व्याख्या गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा हाल पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विशेष अभियानकै रुपमा प्रवद्र्धनका लागि सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान सञ्चालन गरिरहेको छ । सन् २०२० जनवरी १ तारिखका दिन भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुभएको थियो । भ्रमण वर्ष चलिरहेको सन्दर्भमा नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभावका सङ्केत देखिएका छन् । चीनको हुवई प्रान्तको वुहानलगायत सहरमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा प्रभाव पार्नेछ भने अन्य मुलुकबाट पनि नेपाल आउने पर्यटकको कमी हुने अनुमान गरिएको छ ।

पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । विसं २०७४ चैत २ गते पर्यटनमन्त्री बन्नुभएका अधिकारीको विसं २०७६ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भयो । यो घटनाले पर्यटन क्षेत्रले अभिभाव गुमाएको अवस्था सिर्जना भयो तर, त्यो अभावलाई किन्चित खड्कन नदिन प्रधानमन्त्री स्वयंले पर्यटन क्षेत्रमा चासो लिएर जल्दाबल्दा विषयलाई व्यवस्थापन गर्न अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुभयो । फलस्वरुप पर्यटन क्षेत्रले आफ्नो विकासको अविचलित यात्रामा पूर्ण विराम लगाउनुपरेन ।

करिब पाँच महिनाको अन्तरालपछि नेकपाका युवा नेता योगेशकुमार भट्टराईले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभो । मन्त्री भट्टराईले गत भदौ ९ गते पत्रकार सम्मेलन पर्यटन क्षेत्रमा नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत १४१ बुँदे कार्ययोजना ल्याउनुभएको थियो ।

प्राथमिकतायुक्त कार्यक्रमअन्तर्गत हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन् । कार्ययोजनाअनुरुप मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, अन्तर्राष्ट्रिय विमानस्थल मापदण्डबमोजिमको सेवा व्यवस्थापन आदि काम शुरु भइसकेको छ ।

हवाई पूर्वाधार विकास र विस्तारका लागि सरकारले विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको छ भने अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विगत दुई वर्षको अवधिमा मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पूर्वाधार विकासमा रु ५० अर्ब र जग्गा अधिग्रहणमा रु ३३ अर्ब खर्च भइसकेको छ । आन्तरिकतर्फ पूर्वाधारमा रु छ अर्ब र जग्गा अधिग्रहणमा रु एक अर्ब खर्च जनाएको छ ।

प्राधिकरणले आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारमा झण्डै साढे तीन खर्ब लगानी गर्ने भएको छ । यो लगानी मुलुकभित्र सञ्चालित आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको खर्च हो । यसबाट नेपालको हवाई क्षेत्रले क्रान्तिकारी फड्को मार्ने सरोकारवालाको भनाइ छ ।

हाल मुलुकमा ५४ विमानस्थल रहेपनि जम्मा ३२ वटा मात्र व्यावसायिक सञ्चालनमा छन् । पैतिस विमानस्थल कालोपत्र भइसकेका छन् । तराई क्षेत्रका सबै विमानस्थलको स्तरोन्नति गरी ठूला जहाज सञ्चालनको वातावरण सिर्जना गर्ने र पहाडी तथा हिमाली क्षेत्रका विमानस्थल विस्तारको काम भइरहेको छ ।

विसं २०७२ को गोरखा (७.६ रेक्टर) भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षमा गति लियो । विसं २०७४ संविधानसभाको निर्वाचनपछि स्थायी सरकार बन्यो । त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको छ । पछिल्ला वर्षमा नेपलामा पर्यटनको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा १० लाख, सन् २०१८ मा १२ लाख हाराहारी र सन् २०१९ मा झण्डै सोही सङ्ख्यामा विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् ।

पछिल्ला वर्षमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको र खासगरी पूर्वाधारको क्षेत्रमा देखिने गरी काम भएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी बताउनुहुन्छ । उहाँले पर्यटकीय पूर्वाधार विशेष गरी हवाई क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो ।

“मुुलुकमा स्थायी सरकार बनेपछि सकारात्मक परिणाम पर्यटन क्षेत्रमा पनि देखिएको छ । पछिल्ला वर्षमा पर्यटकको सङ्ख्यामा निरन्तर बढोत्तरी भएको छ । हवाई पूर्वाधारको क्षेत्रमा निकै राम्रो प्रगति गरेका छौँ, हवाई सम्झौता भएका देशको सङ्ख्या बढेको छ भने वायु सेवा कम्पनी पनि थपिएका छन् । गएको दुई वर्षमा आन्तरिक उडानमा ११ जहाज थपिएका छन्”, उहाँले भन्नुभयो ।

तराई–मधेशका क्षेत्रीय हब विमानस्थलाई रात्रिकालीन उडानयोग्य बनाउने र आधुनिक प्रविधिमैत्री बनाइनुका साथै नयाँ विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको सचिव अधिकारीको भनाइ छ ।

उहाँका अनुसार समस्याग्रस्त आयोजनाको रुपमा रहेको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उत्साहवद्र्धक प्रगति गरेको छ । सन् २०१७ मा निर्माण सकिनुपर्ने यो आयोजना अलपत्र भएपछि सरकार आफैँले निर्माण व्यवस्थापनको जिम्मा लिएर दुई वर्षको अवधिमा ८५ प्रतिशत भौतिक प्रगतिको अवस्थामा पु¥याउनु निकै उपलब्धि हो । यो विमानस्थल अबको चार महिनाभित्र सञ्चालनमा आउनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । बहुप्रतिक्षित बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले निजगढ विमानस्थल निर्माणको जिम्मा पाएको स्विट्जरल्याण्डको ज्यूरीच इन्टरनेशनल एयरपोर्टलाई परियोजनाको विस्तृत प्रस्ताव मागेको छ । एक साताभित्र उक्त आयोजनाबारे निर्माण कम्पनीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको कामले पनि गति लिएको छ । पर्यटन सचिव अधिकारीले हालसम्म ४०० सम्पदाको पुनःनिर्माण सकिएको जानकारी दिनुभयो । यो वर्ष २०० सम्पदा पुनःनिर्माण गर्ने योजना छ ।

मन्त्रालयको नीतिगत सुधारतर्फ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने गरी विधेयक मन्त्रिपरिषद्बाट पास भइसकेको छ । नीतिगत सुधारतर्फ पनि निकै प्रगति भएको छ । हवाई नीतिको अन्तिम मस्यौदाको तयारीमा मन्त्रालय छ ।

समग्रमा पर्यटन क्षेत्रको विशेषतः समपर्क सञ्जाल विस्तारमा राम्रो प्रगति भएको र यसलाई आगामी दिनमा जारी राख्न सकिएमा मुलुकको विकासले फड्को मार्ने सचिव अधिकारीको भनाइ छ ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको हस्पिटालिटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अबको दुई वर्षको अवधिमा निर्माणाधीन झण्डै १० वटा पाँच तारे होटल पूर्ण सञ्चालनमा आउनेछन् । काठमाडौँ, भैरहवा, नेपालगञ्ज पोखरामा पाँचतारे होटल थपिएका हुन् । पहिला दुई वटा मात्रै चार तारे होटल रहेकामा दुई वर्षको अवधिमा १३ वटा चार तारे होटल भएका छन् । चेन होटल काठमान्डु मेरियट होटल सञ्चालनमा आइसकेको छ । त्यस्तै होटल सेराटन, हिल्टनलगायतका होटल धमाधम निर्माण भइरहेको छ । होटल एशोसिएशन अफ नेपाल हानका अनुसार अहिले मुलुकमा करिब चार हजार ८०० श्यया छन् । पर्यटकस्तरीय करिब दुई हजार होटल छन् ।

विगत दुई वर्षमा पर्यटन क्षेत्रमा विशेषगरी पूर्वाधार विस्तार र सम्पर्क सञ्जाल विस्तारमा उत्साहवद्र्धक काम भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । सरकार र निजी क्षेत्रको साझेदारीता पर्यटन प्रवद्र्धनको कामले गति लिएको उहाँले उल्लेख गर्नुभयो ।

भ्रमण वर्ष अभियानलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्थापित गर्नका लागि धमाधम काम भइरहेको छ । विमानस्थललाई २४ सैँ घण्टा सञ्चालन गरी आधा घण्टाभित्र ब्यागेज पाउने व्यवस्था गर्ने, बायोमेट्रिक प्रणालीबाट यात्रुको जाँच, अध्यागमनलाई चुस्त र विमानस्थलका सेवालाई प्रविधिमैत्री बनाउने कार्य भएको छ । ७० वर्षभन्दा माथिका नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।

विसं २०७२ को गोरखा (७.६ रेक्टर) भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षमा गति लियो । विसं २०७४ संविधानसभाको निर्वाचनपछि स्थायी सरकार बन्यो त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको छ । पछिल्ला वर्षमा नेपलामा पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा १० लाख, सन् २०१८ मा १२ लाख हाराहारी र सन् २०१९ मा झण्डै सोही सङ्ख्यामा विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् ।