काठमाडौ, माघ २९
हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले गराए ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले २७ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७५/७६ अन्त्य सम्म रु. १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र रु. ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको जानकारी गराए जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो । सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने पाँच जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
नवनिर्बाचित संचालकहरुलाई बधाई दिंदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्रेष्ठले चालु आर्थिक बर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारी दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।