बाजुरा, ११ चैत
बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।
शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
चञ्चल मनलाई नियन्त्रण गरी सम्पूर्ण बन्धनबाट मुक्त गराउने अभ्यास योग भएकाले व्यक्तिव्यक्तिमा योगाको महत्वबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष लालबहादुर ओलीको भनाइ छ ।
शारीरिक अभ्यासबिना नै शारीरिक अवस्था सन्तुलन र स्वस्थ राख्ने कलाको प्रयोग अरुले पनि सिकुन् भनेर पतञ्जली योग समितिसँगको सहकार्यमा शिविर आयोजना गरिएको नगर प्रमुख पदम बडूवालले बताउनुभयो ।
नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकएकजना योग शिक्षक नै उत्पादन गर्ने लक्ष्यसहित बृहत् योजनाका साथ शिविर सञ्चालन गरिएकोे उपप्रमुख कविता विष्टले बताउनुभयो । शिविरमा बिहान योग अभ्यास र सकारात्मक सोच विकासको प्रशिक्षण पनि दिने कार्यक्रम रहेको छ ।
पतञ्जली योग समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष काशीनाथ भट्ट र जिल्ला अध्यक्ष लालबहादुर ओलीले प्रशिक्षण दिइराख्नुभएको छ । शिविरमा सर्वाङ्गीण सहज व्यायाम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणायाम ध्यान सिकाइने भएको छ ।
बीस देखि ३५ वर्ष उमेर समूहका इच्छुक युवालाई शिविरमा सिकेको ज्ञानलाई थप विकास गर्न भारतको बानरसमा समेत सहभागी हुने अवसर मिल्ने भएको छ ।रासस