काठमाडौँ, २८ माघ (रासस)
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले आयोगले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो । “यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ”, बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेता गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने काँग्रेसको विश्वास छ । बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकार समक्ष माग गरेको छ । बैठकले उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम, त्यसले नेपालमा पर्न सक्ने गम्भीर असरबारे र स्वदेश ल्याएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढङ्गले प्रबन्ध गर्न सरकारलाई सजग गराएको छ ।
राजधानीमै दिनदहाडै नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीका श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ । यसलाई समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा लिँदै काँग्रेसले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कारवाहीको माग गरेको छ ।
यसैगरी अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामीको यही माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक माघ २९ गते २ः०० बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।