नुवाकोट, २७ माघ (रासस)
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताउनुभएको छ ।
आज विदुर नपा–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उक्त भनाइ राख्नुभएको हो । “रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”, अध्यक्ष दाहालले भन्नुभयो, “केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।”
उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग कुरा राखेको बताउँदै भन्नुभयो, “अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको छ । रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।”
अध्यक्ष दाहालले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिनुभएका अध्यक्ष दाहालले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्योभन्दा बढी आफूलाई अभाव खड्किएको बताउनुभयो । “पार्टीको उच्च नैतिकवान् नेताको परिचय बनाउनुभएको थियो बोगटीले । उहाँको अभाव पार्टीमा खड्किरहेको छ । पार्टीलाई भन्दा बढी मलाई अभाव खड्किएको छ । उहाँको अभावमा आफूले चाहेजस्तो कतिपय काम गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “अन्य कमरेड पनि नहुनु भएको होइन, तर उहाँमा बेग्लै क्षमता थियो । जहाँ पार्टीमा समस्या, विवाद र अप्ठ्यारो परिस्थिति आउँछ, त्यहाँ बोगटी भन्ने परिपार्टी बसेको थियो । जस्तो विवाद पनि समाधान गर्नुहुन्थ्यो ।”
अध्यक्ष दाहालले विसं २०३६ बाट बोगटीले आफूलाई निरन्तर साथ दिएको बताउनुभयो । “मेरो एकातिर डाक्टर र अर्कोतिर वैद्य त हुनुहुन्थ्यो । तर जस्तोसुकै कुरा भए पनि बोगटीले दुवैको दाँतबाट पसिना निकाल्नेगरी कुरा राख्नुहुन्थ्यो । जस्तोसुकै कुरा भए पनि बोगटीले पार लगाउनुहुन्थ्यो ।”
कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनापिच्छे प्रसारण लाइन निर्माण गर्दा देशका धेरै स्थानमा तार माकुराको जालो जस्तो भएकाले अबदेखि एउटा क्षेत्रमा उत्पादित बिजुलीलाई एउटै प्रसारण लाइनबाट लैजाने रणनीति अवलम्बन गरिरहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा एक हजार मेगाबाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन हुने बताउनुभयो । मन्त्री पुनले चण्डेश्वरी माविलाई नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको १२५ रोपनी जग्गा हस्तान्तरण गर्न प्रक्रिया शुरु भएको र त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सांसदद्वय नारायणप्रसाद खतिवडा र बहादुरसिंह लामा, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडालगायतले मन्तव्य राख्नुभएको थियो । विसं २०१० मा तुप्चेमा जन्मिएका बोगटीको २०७१ मा निधन भएको थियो । आफ्नो खेतबारी चण्डेश्वरी विद्यालयलाई हस्तान्तरण गरी पूर्णकालीन राजनीतिमा होमिएका बोगटी तत्कालीन नेकपा माओवादीको महासचिवसम्म बन्नुभएको थियो भने ऊर्जा र पर्यटनमन्त्री भएर पनि काम गर्नुभएको थियो ।