काठमाडौ, माघ २७
आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कर्जा जोखिम तथा असुली व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । यही २०७६ माघ २६ र २७ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ३० वटा शाखा कार्यालयहरुमा कार्यरत ३० जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कर्जा जोखिम तथा असुली ब्यवस्थापन सम्बन्धी तालिम मेघ राज गजुरेलले प्रशिक्षण दिनु भएको थियो । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा, कमल खत्री तथा दिपेन्द्र खनाल ले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गर्नुभयो भने जिवसन धामी ले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल सम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. २ अर्ब २३ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।