neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी अस्वस्थ

पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी अस्वस्थ

Feb 10th, 2020

चितवन, २७ माघ (रासस)

पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ ।

श्रेष्ठको हेरचाह गर्दै आउनुभएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार शुरु गरिएको छ । उहाँ अस्वस्थ भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह, गगनकुमार थापालगायतले भेटी स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ ।

एकानब्बे वर्षीया श्रेष्ठ गोर्खा क्षेत्र नम्बर २ बाट विसं २०४८ मा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ राष्ट्रियसभा सदस्यमा मनोनीतसमेत हुनुभएको थियो । काँग्रेस केन्द्रीय कार्यालय, चितवनस्थित जिल्ला कार्यालय, भरतपुर महानगरपालिका–१ को कार्यालयसँगै मैयादेवी कन्या कलेज, नेपाल प्रेस युनियन चितवन, ओम शान्तिलगायत सङ्घसंस्थालाई उहाँले जग्गा दान गर्नुभएको छ । पौडेलका अनुसार श्रेष्ठले दान गर्नुभएको सम्पत्तिको अहिलेको मूल्य रु एक अर्ब हाराहारी हुन आउँछ ।