neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 9th, 2020

काठमाडौं, २६ माघ

काठमाडौं महानगरपालिका-१४ स्यूचाटारबाट मकवानपुर कैलाश गाउँपालिका-६ घर भई सितापाईला बस्ने ४२ वर्षीया मिरा अधिकारीलाई ३.५ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्यूचाटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब १८ ग्राम ५ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ ज्योतिनगर बस्ने २१ वर्षीय शिबराज पुरी र सोही ठाउँ बस्ने ३२ वर्षीय बिष्णु पुरी रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भे.९ प ६५२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट लुकाई छिपाई टायर कभरमा ल्याएको उक्त लागूऔषध फेला पारी चालक पुरी र मोटरसाइकलमा सवार बिष्णुलाई पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट भारत घर भएका २५ वर्षीय अब्दुल रसिदलाई करिब २ सय ग्राम लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।