neapl investment mega bank

केही दिनभित्रै नेपाल आइपुग्दै रेल सेट

Feb 8th, 2020

–सञ्चिता घिमिरे
काठमाडौँ, २४ माघ (रासस)

धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ ।

निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ । नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो । रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “रेल सेट रेलमार्गसम्म केही दिनभित्रै आइपुग्नेछ ।”

रेल सेट आइपुग्न लाग्दा सरकारले आवश्यक तयारी अघि बढाइरहेको छ । रेल सञ्चालनका लागि विगतमा रहेको रेल्वे कम्पनी ब्यूताउँने गरी तयारी अघि बढाएको विभागले जनाएको छ । रेल्वे कम्पनी कर्मचारी विनियमावलीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । सो विनियमावलीमाथि मन्त्रालयमा छलफलमा क्रममा रहेको महानिर्देशक मिश्रले बताउनुभयो ।

कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून छन् । त्यसमा पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको उहाँको भनाइ छ । रेल सञ्चालनका लागि कम्पनीमा सबै गरी झण्डै २०० जनशक्ति आवश्यक पर्ने महानिर्देशक मिश्रले बताउनुभयो । सञ्चालन, मर्मतलगायत कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्तिसँगै कम्पनीमा प्रशासन, लेखालगायत कर्मचारी आवश्यक भएको भन्दै विभागले सबै खालका कर्मचारी प्रस्ताव गरेको हो ।

नेपाल भारत जोड्ने यो रेलमार्ग सञ्चालनको तयारी भइरहँदा रेल्वे विधेयक पनि अघि बढेको छ । राष्ट्रियसभाको समितिमा दफावर छलफलमा रहेको विधेयकले रेल सञ्चालनका लागि छुट्टै प्राधिकरणको परिकल्पना गरेको छ । रेल्वे विधेयकमा अन्तरराष्ट्रिय रेल सञ्चालन, चालकको योग्यता, यात्रुको सुरक्षा, रेलको सुरक्षालगायत विषय समेटेको छ ।

सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो । ‘जि टु जि’ ९दुई सरकारका बीच० रेल खरिद गरिएको हो । दुई वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्को सेट आइपुग्ने विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो ।

उहाँका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ । सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ । भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ । कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ । जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्षपछिबाट काम शुरु भएको चित्रकारले बताउनुभयो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन ।

भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।