neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्यालयसहित सरकारी संस्थाहरुको व्यवस्थापन सुधार गर्न उपराष्ट्रपति पुनको आग्रह

विद्यालयसहित सरकारी संस्थाहरुको व्यवस्थापन सुधार गर्न उपराष्ट्रपति पुनको आग्रह

Feb 8th, 2020

काठमाडौं, माघ २५

उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यालयसहितका सरकारी संस्थाहरुको व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ । ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा बार्षिक साधारण सभाको अवसरमा नेपाल व्यवस्थापन संघद्धारा आयोजित राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रमलाई शुक्रबार राजधानीमा संबोधन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताउनुभएको हो ।

नेपालका सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो, “देशभरका विद्यालयमा पाठ्यक्रम समान छ । शिक्षकहरुको न्यूनतम् योग्यता उही छ । उही शिक्षा आयोगले लिएको परीक्षा उत्तिर्ण गरेका शिक्षकहरु छन् । तालिमको अवसर पनि समान छन् । विद्यालयको भौतिक संरचना पनि सरकारले समान ढंगले खर्च गरिरहेको छ तर एकै समयमा भएका परीक्षमा नतिजा समान छैन् । केही सीमितको नतिजा उत्कृष्ट केहीको सन्तोषजनक भएपनि अधिकांशको निराशा र चिन्ताजनक छ । ”

उपराष्ट्रपति पुनले शैक्षिक संस्थाबाहेकका सरकारी संस्थाहरुको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सरकारी क्षेत्रमा पनि सुधार संभव भएको उदाहरण नेपाल विद्युत प्राधिकरणले प्रस्तुत गरेको उल्लेख गर्दै भन्नुभयो,“हरेक मन्त्रालयले एक बर्षमा एउटामात्र उदाहरणीय काम गर्दा पनि बर्षमा २५ ।२६ बटा नमूना काम हुन सक्छन् । देश र जनता लाभान्वित हुन सक्छन् । संमृद्धिको यात्रा यहीबाट सुरु हुन्छ । ”

उपराष्ट्रपति पुनले हरेक व्यवस्थापकमा ज्ञान,सीप,दक्षता,उत्साह,लगनशीलता र धैर्यता हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “असल ब्यवस्थापक त्यो हो जसले जस्तोसुकै प्रतिकूल समयमा पनि उत्कृष्ट नतिजा र उपलब्धि हासिल गर्दछ । त्यस्तो कला जसले विग्रेर कुरुप भएकोलाई पनि सुधारेर सुन्दर बनाउन सक्छ । ”

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सरकारी क्षेत्रलाई अब्बल र उत्कृष्ट बनाउन विशेष ध्यान दिन नेपालका व्यवस्थापकहरुसंग आग्रह गर्नुभयो ।

श्रेष्ठ र खुँजेली बर्षका उत्कृष्ट व्यवस्थापक

पुरस्कार तथा सम्मान कार्यक्रममा वर्षका व्यवस्थापक २०१९ बाट राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई र महिला व्यवस्थापन कदर सम्मान २०१९ वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१९, बाट मेगा बैंक लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मानका लागि उपयुक्त व्यक्ति चयन गर्नको लागि नेपाल व्यवस्थापन संघले प्रथम उपसभापति बमबहादुर मिश्रको संयोजकत्वमा प्रा. सुवास के.सी., प्रा.डिल्लीराज शर्मा,उद्योगपति सतिशकुमार मोर(नेपाल उद्योग परिसंघका प्रतिनिधि),उमेशलाल श्रेष्ठ(नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि),संघका महासचिव मोहनकुमार ओझा र संघका प्रमुख कार्यकारी अधिकृत यादव पौडेल सदस्य सचिव रहेको एक पुरस्कार तथा सम्मान छनौट समिति गठन गरको थियो ।
समितिले खुला सूचनाद्धारा आवेदन मागेर विभिन्न चरणमा मूल्यांकन गर्र्दै संबन्धित व्यक्तिहरुको अन्तरवार्तासमेत लिएर दुवै श्रेणीमामा उत्कृष्ट अंक हासिल गर्ने तीन तीन जना व्यवस्थापकको सूची व्यवस्थापन संघको केन्द्रीय समितिसमक्ष पेश गरको थियो ।

फाइनलिष्टको रुपमा वर्षका व्यवस्थापकतर्फ किरणकुमार श्रेष्ठ(राष्ट्रिय बाणिज्य बैंक),चन्द्र टण्डन(सिटी एक्सप्रेस मनि ट्रान्स्फर) र हरिराज शर्मा(अल्फा बिटा)का प्रमुख कार्यकारी अधिकृतहरु पुग्नुभएको थियो भने महिला व्यवस्थापन कदर सम्मान (वुमन म्यानेजर रिकग्निशन अवार्ड)तर्फ अनुपमा खुँजेली(मेगा बैंक),अनुपा बुढाथोकी(अनुपा डिष्ट्रिबुसन सिस्टम प्रा.लि) र उमा पाठक(सेनेका एजुकेशनल कन्सल्टेन्सी) पुग्नुभएको थियो ।

नेपाल व्यवस्थापन संघका सभापति ई. सुशील भट्टको सभापतित्वमा भएको राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान समारोहमा संघका महासचिव मोहनप्रसाद ओझाले स्वागत मन्तव्य राख्दै संघको संक्षिप्त परिचय र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मानको पृष्ठभूमिका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा समापन मन्तव्य दिंदै संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य ई. सुशील भट्टले विगतमा राजनीतिक अस्थिरता, दिगो शान्तिको अभाव र आवश्यक तथा भरपर्दो ऊर्जाको अभाव जस्ता प्रतिकूलतासंग जुध्दै उत्कृष्ट नतिजा ल्याउन सक्ने नेपाली ब्यवस्थापकहरुका लागि अहिले राजनीतिक स्थायित्व, दीगो शान्ति र आवश्यक तथा भरपर्दो विद्युतको उपलब्धताले अपेक्षित नतिजा ल्याउन धेरै सघाएको बताउनुभयो ।

यस पूर्व आजै नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन र ३९ औं बार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

अहिले १९ औं कार्यकारिणी समितिको लागि निर्वाचन भैरहेको छ । यसपछि आजै एशियाली व्यवस्थापन संस्थाहरुको संगठनको आयोजनामा एशियाली नेतृत्व साँझ २०२० आयोजना हुँदैछ ।
नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।
स्थापनाको ३९ बर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमो सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।

संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ । यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।