neapl investment mega bank
  • गृहपृष्ठ
  • सडक सञ्जालले जोड्यो बेलढुङ्गा र स्वर्गाश्रमलाई

सडक सञ्जालले जोड्यो बेलढुङ्गा र स्वर्गाश्रमलाई

Feb 6th, 2020

रामबहादुर थापा
बागलुङ, २३ माघ (रासस)

बागलुङ र म्याग्दीको सीमामा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रमलाई सडक सञ्जालले जोडेको छ । पर्यटकसँगै सर्वसाधारणको आउजाउ सहज बनाउन बागलुङको काठेखोला गाउँपालिका–३ धम्जादेखि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडक मार्ग खोल्ने कामगत वर्षदेखि शुरुआत गरिएको थियो ।

सीमास्थल देउरालीमा दुवैतर्फका पालिकाले हालै सडक पु¥याएका हुन् । धम्जाको ओखलेदेखि तीन किमि र भकिम्लीको स्वर्गाश्रमदेखि पनि करिब तीन किमि सडक सीमामा जोडिन बाँकी थियो । सडक नहुँदा पर्यटक तथा छिमेकी गाउँका बासिन्दा हिँडेरै ओहोरदोहोर गर्न बाध्य थिए । “सडक जोडिएर गाडी पनि चल्न थालिसके”, काठेखोला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर श्रीसले भन्नुभयो, “पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रम घुम्ने पर्यटकसहित स्थानीयवासीलाई सहज भएको छ ।” पहिले ओखलेदेखि डेढ÷दुई घण्टाको पैदलयात्रामा पुगिने स्वर्गाश्रममा अहिले गाडीबाट १५ मिनेटमै पुगिन्छ ।

ओखलेदेखि बेलढुङ्गाको यात्रा त झनै छोटिएको छ । गाडीबाट दश मिनेटमै बेलढुङ्गा तल देउरालीमा पुगिने स्थानीयवासी लोक श्रीसले जानकारी दिनुभयो । “भकिम्ली हुँदै म्याग्दीको सदरमुकाम बेनी बजार जान पनि यो बाटो छोटो पर्छ”, उहाँले भन्नुभयो । बेलढुङ्गा म्याग्दी सदरमुकाम बेनी बजारदेखि १८ किमि र बागलुङ सदरमुकामदेखि ३५ किमिको दुरीमा पर्छ ।

मध्यपहाडी लोकमार्गदेखि तङ्ग्राम–धम्जा–बेलढुङ्गा हुँदै म्याग्दी जोड्ने सडक काठेखोला गाउँपालिकाको गौरवको योजनामा छ । नयाँ मार्ग जोड्न र स्तरोन्नतिका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । “गौरवको योजना भएकाले क्रमागतरुपमा बजेट छुट्टिने गरेको छ”, वडाध्यक्ष श्रीसले भन्नुभयो, “मार्ग खोल्ने काम पुरा भएको छ, अब स्तरान्नतिको काम अगाडि बढाउँछौँ ।”

बेनी नगरपालिकाबाट स्वर्गाश्रम क्षेत्रको विकासका लागि गत आवमा विनीयोजित रु सात लाख बजेट पनि सोही सडकमा खर्च गरिएको थियो । थप बजेट व्यवस्थापन गरेर स्वर्गाश्रमबाट बेलढुङ्गाको देउरालीसम्म सडक पु¥याइएको बेनी नगरपालिका–३ ले जनाएको छ । “दुवै जिल्लाको लागि यो सडक महत्वपूर्ण छ”, बेनी नगरपालिक–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो, “बेलढुङ्गा र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ ।” सडक जोडिएको सीमा क्षेत्र देउरालीबाट बेलढुङ्गा पुग्न केही मिनेटको पदयात्रा गर्नुपर्छ । २७ सय मिटरको उचाइमा अवस्थित बेलढुङ्गा जाने पदमार्गका लागि दुवै पालिकाले लगानी गरेका छन् । काठेखोला गाउँपालिकाले गत आवमा पदमार्ग बनाउन रु दुई लाख बजेट छुट्टाएको थियो । यो वर्ष पनि विश्रामस्थल, ‘रेलिङ’, घेराबारलगायत पूर्वाधार निर्माणका काम अगाडि बढाइएको छ ।

बेलढुङ्गा प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा परिचित छ । त्यहाँबाट दर्जनौँ हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मी जिल्लाका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ । प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको बासस्थान छ ।

बेलढुङ्गादेखि तल भकिम्ली गाउँको सिरानमा रहेको स्वर्गाश्रम पनि त्यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । प्राकृतिक हिसाबले सौन्दर्यपूर्ण स्वर्गाश्रम तपस्यास्थलका रुपमा चिनिन्छ । बेलढुङ्गा, स्वर्गाश्रमसँगै आसपासका गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन सडक सञ्जालले टेवा पु¥याउने विश्वास लिइएको छ । सडकले दुवै जिल्लाबीचको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध र गतिविधिमा समेत सहजता थपिनेछ । धम्जा र भकिम्लीबीच पुस्तौँदेखिको छिमेकी साइनो छ । दुवै गाउँबीच संस्कृति, वस्तु तथा उत्पादनको समेत आदानप्रदान हुँदै आएको छ । पहिलपहिले पश्चिम बागलुङदेखि म्याग्दी हुँदै मुस्ताङ जाने पैदलमार्ग पनि यहीँ पथ्र्यो । बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न दुवै पालिकाले सहकार्य अघि बढाएका छन् ।