आधारभूमी संवाददाता
काठमाडौं,माघ २३
बैंकहरुले सेवा शुल्क घटाएका कारण आफ्नो नाफामा गिरावट आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बैंकहरुले सेवा शुल्क घटाएको तर्क गरेपनि उद्योगीहरु भने यसमा सहमत देखिएनन् ।
उद्योगीहरुले त बैंकर्सलाई विभिन्न सेवा शुल्क लिएर पुराना साहु महाजन सँगै तुलना गरे । विभिन्न बहानामा बैंकहरुले सेवा शुल्क अहिले पनि लिने गरेको व्यवसायी बताउँछन् । नेपाल च्याम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने ‘ बैंकहरुले विभिन्न सेवा शुल्क लिइरहेका छन्, किन अब पनि बैंकहरु साहु महाजन नै भइरहन पर्छ र , बैंकहरुले यसमा सुधार गरुन् । ’
बैंकहरुले भने प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नका लागि सहज गराईदिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले कृषिमा न्यूनतम १० प्रतिशत तथा उर्जा र पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ । बैंकर्सले भने यसलाई संसोधन गरेर बैंकहरुको बिज्ञता अनुसार कर्जा लगानी गर्न दिनुपर्ने सुझाव दिएका छन् ।
बैंकहरुले प्राथमिकता पाप्त क्षेत्रमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था कायम राखेपनि १० प्रतिशत तथा उर्जा र पर्यटनमा १५ लगानी गर्नुपर्ने व्यवस्था संसोधन गर्न सुझाव दिएका छन् ।
बिगतमा राष्ट्र बैंकले यस खालको सुविधा नदिएको पनि होइन तर बैंकहरुको कृषि क्षेत्रमा प्रदान हुने कर्जा अत्यन्त न्युन भएपछि राष्ट्र बैंकले कसिलो नीति अपनाउदै गएको हो । राष्ट्र बैंकले बैंकहरुलाई अहिले बिग मर्जरमा जान भनिरहेको छ । तर बैंकर्सले भने राष्ट्र बैंकको नीतिकै कारण मर्जमा जान कठिन भएको धारणा राखेका छन् ।
बैंकले धितोका आधारमा नभई आयोजनाका आधारमा ऋण प्रवाह गर्ने व्यवस्था गर्न उद्योगीहरुले सुझाव दिए । सवारी साधनमा प्रवाह हुने कर्जामा राष्ट्र बैंकले हालैमात्रै केहि कडाई गरेको छ । जसको उद्योगीहरुले खुलेरै आलोचना गरे ।
बिकास बैंकहरु भने राष्ट्र बैंकले १५ लाख भन्दा कमको ऋणमा आधार ब्याजदर भन्दा २ प्रतिशत बढि प्रिमियम ब्याज लिन नपाइने व्यवस्थाका कारण साना ऋणीले ऋण पाउन नसकेको र सहकारीमा केन्द्रित भएको बताउँछन् ।