neapl investment mega bank

सप्तरीमा थपियो बोर्डर आउट पोस्ट

Feb 3rd, 2020

सप्तरी, २० माघ (रासस)

सप्तरीको बोदे बर्साइनमा आइतबार एउटा बीओपी (बोर्डर आउट पोस्ट) थपिएको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आइतबार सुरक्षा बेसलाई स्तरोन्नति गरी बीओपी स्थापना गरिएको हो । जसमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी रहने छन् ।

शान्ति सुरक्षा कायम हुने, सीमाको सुरक्षा थप मजबुत हुने, सीमा अपराध नियन्त्रण हुने र अवैध चोरी निकासी रोकिने विश्वासका साथ बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनुभयो ।

योसँगै सप्तरी जिल्लामा बीओपीको सङ्ख्या सात पुगेको छ । सरकारले देशभर ११४ वटा बीओपी थप गर्ने निर्णय गरेअनुसार सप्तरीमा तीन वटा बीओपी थप्न लागिएको हो । बोदे बर्साइनपछि बेल्ही र जोगिनियामा बीओपी थपिने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा तीन वटा नयाँ बीओपी थपिए पछि बीओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ८।६ किलोमिटर रहनेछ । जनशक्ति थप हुँदै गएमा आवश्यक्ताअनुसार बीओपी थपिँदै जाने अर्यालले बताउनुभयो ।

प्रदेश नम्बर २ को आठवटै जिल्लाको दक्षिणतर्फ भारतसँग जोडिएको सिमाना ४६४ किलोमिटर लम्बाइ रहेको छ । प्रदेश २ को नेपाल भारत बीचको सीमा दूरीमा ५२ वटा बीओपी स्थापना भइसकेको र १७ वटा थप्न लागिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख यादवले बीओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुगेमा भन्सार कार्यालय स्थापना गर्न पहल गरिने बताउनुभयो । उहाँले वडा नम्बर ९ मा भवन निर्माण भएपछि बीओपी स्थान्तरण भए पनि हाल वडा नम्बर ५ बोदे बर्साइनमा समेत सुरक्षा बेस कायम राख्न आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीमा उपलब्ध भएको १० कट्ठा जग्गामा भवन निर्माण कार्य भइरहेको छ । बोदे बर्साइन नगरपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण कार्य सम्पन्न नभएकाले हाल सुरक्षा बेस रहेकै वडा नम्बर ५ मा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण विष्णुपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो । उहाँले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गरिने बताउनुभयो ।