neapl investment mega bank

सभागृहको काम अघि बढ्दै

Feb 3rd, 2020

चितवन, २० माघ (रासस)

अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिनुभयो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृहको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ सभागृह निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो । दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ ।

उहाँले सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताउनुभयो । सभागृहको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा हुनुभएका प्रमुख कुमार घिमिरेका अनुसार सभागृह नेपालकै अत्याधुनिक र ठूलो हुनेछ । काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र महानगर प्रमुख रेनु दाहालको काम अघि बढेको जनाइएको छ ।