रामबहादुर थापा
बागलुङ, २० माघ (रासस)
जिल्लाको ताराखोला गाउँपालिकाका घरवास (होमस्टे) सञ्चालक गत महिना तनहुँ, बन्दीपुरको भ्रमणमा निस्के । ‘पहाडकी रानी’ उपमाले चिनिने बन्दीपुर पुगेका बेला भ्रमण टोली लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुबारी पनि घुम्यो ।
गुल्मी, धुर्कोट गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत यसपालि बन्दीपुर पुगे । पर्यटकीय नगरी बन्दीपुर घुमफिर गरे । प्राकृतिक सौन्दर्यमा रमाए । पर्यटनबारे ज्ञान र सिकाइ हासिल गरे । फर्कदा बागलुङका गन्तव्यस्थलको भ्रमण गरे । यतै रात बिताए ।
आउँदो फागुनमा तनहुँ, बन्दीपुर गाउँपालिका र ताराखोला गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायत धुर्कोट जाने योजनामा छन् । धुर्कोट जाने बन्दीपुरको टोलीले त्यहीबेला ताराखोलासहित बागलुङका पर्यटकीयस्थलको भ्रमण गर्नेछ ।
ताराखोला, बन्दीपुर र धुर्कोट गाउँपालिकाबीच एकापसमा भगिनी साइनो छ । गत कात्तिकमा जोडिएको भगिनी नाता पर्यटन प्रवद्र्धनको शुरुआती प्रयासबाट थप प्रगाढ बन्दैछ । “आउँदो फागुनमा तीनै वटा गाउँपालिकाबीच धुर्कोटमा बैठक बस्दैछ, त्यहीँबाट वार्षिक योजना बनाउँदैछौँ”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भन्नुभयो ।
भगिनी साइनो गाउँपालिकाबीच सिकाइ, अनुभव आदानप्रदानसहित सकारात्मक कामको अनुशरण र प्रसारका लागि फलदायी हुने विश्वास लिइएको छ । यसअघि स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
“अहिले भ्रमण वर्ष पनि चलिरहेको हुनाले पर्यटन प्रवद्र्धन नै हाम्रो पहिलो प्राथमिकतामा छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “तीनवटै गाउँपालिकाका बढीभन्दा बढी पर्यटकलाई भगिनी साइनो गाँसिएका गाउँपालिकामा भ्रमण गराउने लक्ष्य छ ।”
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताउनुभयो । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने उल्लेख गर्नुभयो ।
बन्दीपुरको घरवास घुमेर फर्कनुभएकी ताराखोलास्थित ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्तीमगर भ्रमणबाट उत्साहित हुनुहुन्छ । “भ्रमणबाट धेरै कुरा सिकियो, होमस्टे कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो”, उहाँले भन्नुभयो, “मितेरी गाउँपालिकाको भ्रमण गर्न पाउँदा खुशी लाग्यो ।”
भगिनी साइनो जोड्ने समझदारीपत्रमा हस्ताक्षर गरेपछि तीनैवटा गाउँपालिकाका अध्यक्षले एकापसमा आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ पार्नुका साथै सहयोगको आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएकाले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने विश्वास लिइएको छ ।
स्थानीय उत्पादन, कला, संस्कृति, रहनसहन र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् । ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा पर्छ भने धुर्कोट गाउँपालिका ५ नं प्रदेशमा पर्छ । रमणीय पहाडी भूगोल र हावापानीमा अवस्थित तीनै वटा गाउँपालिकामा पर्यटन विकासको प्रचुर सम्भावना छ । ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ ।
भ्रमण वर्षलाई लक्षित गरेर गाउँपालिकाले घरवास सञ्चालनदेखि पर्यटनमैत्री पूर्वाधार निर्माणमा लगानी बढाएको छ ।