दमौली, २० माघ (रासस)
तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ आँै काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी दिनुभयो । “नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीयस्थलमा पुगेर काव्य शृङ्खला आयोजना गर्दै आएका छाँै”, उहाँले भन्नुभयो, “यसपटक भने पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गुफाभित्रै कार्यक्रम ग¥यौँ ।”
साहित्यकार अर्पिता पाण्डे, सुष्मा चालिसे, हरिप्रसाद सुवेदी, हरिबोल लम्साल, दिनानाथ पराजुली, रामशरण गैह्रे, रोशनी थापा, धु्र्रव सुवेदीले कविता, गजल, हाइकुलगायतका सिर्जना वाचन गर्नुभएको थियो । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै सङ्गमले काव्य शृङ्खला गर्दै आइरहेको छ ।
सिद्धगुफा विकास समितिले केही दिनअघि मात्रै नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको थियो ।यस क्रममा गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफा जाने बाटोमा फलामको बारसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएका छन् । सो मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।
समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही अनुसार समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमि दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो सो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।