neapl investment mega bank
  • गृहपृष्ठ
  • आशा लघुवित्तद्वारा महोत्तरीकोे एकडारामा सिपमूलक तालिम प्रदान

आशा लघुवित्तद्वारा महोत्तरीकोे एकडारामा सिपमूलक तालिम प्रदान

Jan 31st, 2020

काठमाडौ, माघ १७

आशा लघुवित्त वित्तीय संस्थाले सिपमुुलक तालिम प्रदान गरेको छ । संस्थाले यही माघ १३, १४ र १५ गते तीन दिने सीपमूलक तालिम उपलब्ध गराएको जानकारी दिएको छ । संस्थाले शाखा कार्यालय एकडारा महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्करुपमा लुगाधुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले यस्ता कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने र यस कार्यक्रमपश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुुन ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगाधुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखाकार्यालयहरु मार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा ‘भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब दुुई अर्ब २३ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।