मान्म, १६ माघ (रासस)
कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँ यातायात सेवा शुरु गर्न लागेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा शुरु गर्न लागेको हो ।
चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो गाउँसभाबाट गाउँ यातायात सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गाउँ यातायात सञ्चालनका लागि चार वटा गाडी खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “गाउँवासीको सहज सेवाका लागि गाउँ यातायात सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि चार वटा सार्वजनिक यातायात बस खरिद गरेका छौँ ।” ”
गाउँपालिकाले पलाताभित्र सार्वजनिक यातायात शुरु गरी भौतिक पूर्वाधार तथा यातायात सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय र सुरक्षित बनाउन एकीकृत यातायात प्रणालीको व्यवस्थापन तथा यातायातको विस्तार गर्न लागेको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो । “यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, सूचना प्रणालीको विकास, गाउँपालिकाले एकीकृत यातायात प्रणालीको विकास गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो ।
आउँदो फागुन १ गतेदेखि गाउँ यातायात सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष बमले भन्नुभयो, “रुट निर्धारण गर्ने, सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन प्रणालीको विकास गरी कार्यान्वयन गराइने छ ।