neapl investment mega bank
  • गृहपृष्ठ
  • इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम

इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम

Jan 30th, 2020

–सिबी अधिकारी
काठमाडौँ, १६ माघ (रासस)

सरकारले मुलुककै प्रतिष्ठासँग जोडिएको गौरवपूर्ण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन चुस्त र दुरुत बनाउन लागिपरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको व्यवस्थापन सुधार गरी सेवालाई स्तरीकरण गर्न विभिन्न प्रयत्न र पहलकदमी गर्दै आउनुभएको छ । मन्त्रीको चाहनाले मात्रै हुदैन । संस्था सुधारका लागि स्वयम् कर्मचारी जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्ने हुन्छ ।

के अहिले निगमको व्यवस्थापन प्रभावकारी छ त ? यो प्रश्नको उत्तर सहज छैन् । निगमलाई कसरी सुधार्ने ? यो सरकार मन्त्रीको मात्र हैन आम सरोकारवालाको यक्ष प्रश्न निगमप्रति छ ।

इतिहासकै सङ्गीन घडीमा रहेको निगमलाई बदलिँदो परिवेश र परिस्थितिअनुरुप कार्यसञ्चालन पद्दति र व्यवहारलाई सोहीअनुरुप कार्यान्वयन गर्नु निगमको गहन जिम्मेवारी र दायित्व हो । अहिलेकै अन्यौलग्रस्त अवस्थामा निगम चल्न सक्दैन ।

निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउन र निगमभित्रको आर्थिक मितव्ययीतालाई चुस्त बनाउने योजनादेखि निगमको भविष्यको मार्गचित्रसहितको खाका प्रस्तुत गर्न पर्यटनमन्त्रीले निगमका विभागीय प्रमुखलाई कडा निर्देशन दिनुभएको छ ।

निगमको नयाँ सडकस्थित मुख्यालयमा आज पर्यटनमन्त्रीले निगमका सबै विभागका विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिसँग निगम सुधारबारे छलफल गर्नुभएको हो । कार्यक्रममा पर्यटनमन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

पर्यटनमन्त्री भट्टराईले इतिहासलाई मात्र गर्व गरेर बस्ने छुट नरहेको भन्दै राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले निगमलाई जसरी पनि माथि उठाउनैपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“गौरवमय इतिहास बोकेको निगम आजसम्म जे–जस्तो गरी आइपुग्यो यसको विद्यमान संरचनालाई अब नयाँ ढङले अघि बढाउनैपर्छ, त्यसका लागि कर्मचारी तयार हुनुस्, निगम यतिखेर ऐतिहासिक र निर्णयक अवस्थामा आइपुगेको छ ।”

कुनै पनि संस्थालाई माथि उकास्न केही न केही सम्झौता वा त्याग गर्ने पर्ने भन्दै मन्त्री भट्टराईले निगमको अहिलेको यो अपरिहार्य आवश्यकता हो भन्नुभयो । भारतको एयर इण्डियाको विघटनको उदाहरण दिँदै पर्यटनमन्त्रीले समस्या समाधान गर्न बेलैमा सुजबुझपूर्ण तयारीका साथ अघि बढ्नुमानै निगमको भविष्य उज्वल हुने उल्लेख गर्नुभयो ।

उहाँले निगमका प्रत्येक विभागले हालको समस्या र आगामी कार्ययोजनाको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्न पनि निर्देशन दिनुभयो । निगमभित्रको अनावश्यक खर्च कटौती गर्दै विदेशस्थित निगमका कार्यालयमा बढ्दो खर्च घटाएर आर्थिक मितव्ययिता अपनाउन पनि मन्त्रीले आग्रह गर्नुभयो ।

कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही गरेको पाइएमा कडा कारवाही गर्ने बताउँदै मन्त्री भट्टराईले निगमको उडानसँग जोडिएका सबै विषयलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

“मैले सुनेको छु यहाँका विभागीय प्रमुख तथा कतिपय उपल्लो तहका कर्मचारी व्यापारीसँग समय बिताउने, लन्च गर्ने डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ । अब छाडिदिनुस् व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ”, पर्यटनमन्त्रीले भन्नुभयो ।

निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै उहाँले ¥याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गर्नुभयो । विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसङग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थतिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताउनुभयो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले हालै राजिनामा दिएपछि अहिले पर्यटन मन्त्रालयका सचिवलाई निगमकोसमेत जिम्मेवारी दिइएको छ । निगमको व्यवस्थापकीय कमजोरीका कारण सेवा प्रभावकारी बनाउन सकेको छैन ।

दुई वर्षअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट ऋणमा खरिद गरिएका दुई वाइड बडी जहाजले उचित गन्तव्य पाउन सकेका छैनन् । जसले निगमको व्यापार घाटा छ । अर्बो ऋणमा रहेको निगम सुधार्न सञ्चित पूँजीका लागि रु २० अर्बको मागसहित निगमले सरकारसँग ताकेता गरिरहेको छ ।

आन्तरिक उडानमा रहेका चिनियाँ जाहाज सञ्चालन हुन नसक्नु तथा अन्तरराष्ट्रिय गन्तव्य विस्तार र बजार प्रवद्र्धन गर्न नसक्नुले निगमको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो पटक नेतृत्वको कमजोरीको फाइदा उठाउँदै निगमभित्र राजनीतिक गुटबन्दी चर्किकएको छ । निगमका चालकले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै सामूहिक राजिनामा जस्ता धम्की व्यवस्थापनलाई दिएका छन् । आवश्यकता भन्दा बढी कर्मचारीले पनि निगमलाई समस्या परेको जनाइएको छ ।