neapl investment mega bank
  • गृहपृष्ठ
  • समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छः प्रम ओली

समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छः प्रम ओली

Jan 30th, 2020

काठमाडौँ, १६ माघ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ । वसन्तपञ्चमीका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताउँदै प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिनुभएको छ ।

उहाँले वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत शुभकामना व्यक्त गर्नुभएको छ । “वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ, त्यसैले उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ, सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन्, यसरी असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ”, सरस्वती पूजाका अवसरमा दिइएको उहाँको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “यस दिनलाई ससाना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध छ । सोअनुसार एक वर्षलाई छ ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । वसन्तऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त शुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञानशास्त्रीय प्रचलन छ ।”