neapl investment mega bank

डोटीमा पाँचौँपटक हिमपात

Jan 29th, 2020

डोटी, १५ माघ (रासस)

मङ्गलवारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा आज पाँचौँपटक हिमपात शुरु भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहान कम्तीमा दुईफिट हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

यही माघ २ गते परेको हिउँ पग्लिन नपाउँदै फेरि बुधबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा मङ्गलबार रातिदेखि फेरि हिमपात शुरु भएको हो । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तडसँग सिमाना जोडिएको पूर्वीचौकी पालिकाका स्थानीय धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको छ, निकै समस्या भएकाले वस्तुभाउ गोठ बाहिर निकाल्न समस्या भएको छ ।”

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले पाँचौँपटक हिउँ पर्दा पानीले गहुँलगायतका बाली कुहिने तथा बिग्रिने भन्दै दुखी भएका छन् । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिब दीपकबहादुर खड्काले जानकारी दिनुभयो । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ ।