neapl investment mega bank
  • गृहपृष्ठ
  • चिनीमा राजनीति गर्दै उद्योगी, किन मूकदर्शक छ सरकार ?

चिनीमा राजनीति गर्दै उद्योगी, किन मूकदर्शक छ सरकार ?

Jan 29th, 2020

आधारभूमी संवाददाता
काठमाडौ, माघ १५

सरकारले चिनी आयत कम गर्न समय समयमा विभिन्न निर्णय गर्छ । आठ महिना अघि मात्र सरकारले चिनी आयात कम गर्न कोटा निधारण गरेको थियो । सरकारले २०७५ वैशाखदेखि २०७६ असार मसान्तसम्म ९४ हजार ९ सय मेट्रिकटन मात्र चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो।

तर सरकारले कोटा तोक्नुभन्दा अगाडि नै ९४ हजार ९ सय मेट्रिकटनभन्दा बढी चिनी आयात भएको थियो । सरकारले तोकेको समय सकिए लगत्तै चिनी आयातको बाटो खुल्ला भएर उक्त परिमाणको चिनी आयात भएको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे वताउन्छन् । अहिले सरकारले चिनी आयातमा प्रतिवन्ध नलगाएकोले पनि चिनी तथा चिनीजन्य पदार्थ आयात भैरहेको उनले वताए ।

सरकारले स्वदेशी चिनी उद्योगीले प्रतिस्पर्धा गर्न कठिन भएको बताएपछि ४ वैशाख २०७५ मा चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाएको थियो ।

सरकारले उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धिको निर्णय गरेको भन्दै आलोचना समेत भएको थियो । सरकारले चिनीमा कोटा तोकेपछि नेपालमा चिनी आयात केही कम भएको थियो ।

जस कारण चिनीको बजार मूल्य पनि बढिरहेको छ । आयातमा बन्देज लगाउनुपूर्व प्रतिकेजी रु ६० रहेको चिनी हाल प्रतिकेजी रु ८० देखि ९० सम्ममा बिक्री भइरहेको छ ।

आयात बढाउन उद्योगीको चलखेल

नेपालमा उत्पादित चिनी महंगो पर्ने र आयातित चिनी सस्तो पर्ने हुँदा चिनीको उत्पादन पनि सन्तोषजनक नभएको वताइन्छ । तर विदेशबाट आयात गरिएको उखु सस्तो हुने भएकोले आयातित चिनी सस्तो हुने गरको व्यापारीहरु बताउँछन् ।

नेपाली उद्योगीले सस्तो मूल्यमा चिनी आयात भइरहेकोले त्यससँग प्रतिस्पर्धा गर्न नसकिरहेकाले चिनी आयात रोक्न सरकारसँग माग गर्दै आएका थिए । तर , चिनी आयात रोकीदिन सरकारसंग माग गर्ने उद्योगीले आफूले उत्पादन गरेको चिनी नेपाली बजारमा पुर्याउन भने आनाकानी गरेको वताइन्छ ।

साल्ट ट्रेडिङका प्रवत्ता ब्रजेस कुमार झा साल्ट ट्रेडिङले चिनी उद्योगी मार्फत चिनी खरिद गर्न टेण्डर आव्हान गर्दा कुनै पनि उद्योगी नआएको बताए । उनले भने दुई पटकसम्म टेण्डर आव्हान गर्दा पनि स्वदेशि उद्योग नआएपछि विदेशबाट चिनी आयात गर्न लागिएको छ । सरकारले १० हजार मेट्रिक टन चिनी खरिद गर्न निर्देशन दिएपनि सो पमिाणमा चिनी आयात गर्न लागेको उनले जनाकारी दिए ।

चिनी आयातको अवस्था

नेपाली किसानले चिनी उद्योगीबाट उखुको मूल्य नपाएको वेला विदेशबाट आयातित चिनीले भने नेपालको बजार कब्जा गरेको छ । चालू आर्थिक वर्षमा मात्र नेपालले १ अर्ब १९ करोडको चिनी तथा चिनीजन्य पदार्थ आयात गरेको छ ।

भन्सार विभागको तथ्याक अनुसार यस आवको पाँच महिनामा नेपालले १ अर्व १९ करोड २५ लाख ९८ हजारको चिनी आयात भएको छ । खासगरी साल्ट ट्रेटिङ, डावर नेपाल तथा विभिन्न होटलहरुले चिनी आयात गर्ने गर्छन् । आयात बढिरहेको अवस्थामा पनि केहि अंश निर्यात पनि हुने गरेको छ । चालू आव को पाँच महिनामा ६ करोड २१ लाख ४५ हजारको चिनी तथा चिनीजन्य वस्तु नियाँत भएको छ ।

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्छ । तर बाहिरी मुलकबाट हरेक वर्ष सरदर दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात हुने गरेको छ ।

जसका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको उद्योगीहरु बताउँछन् ।