neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Jan 28th, 2020

काठमाडौं, १४ माघ

बैतडी, नुवाकोट, मोरङ र नवलपरासी (पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

बैतडी, पाटन नगरपालिका-१ सकारस्थित सडकमा म.१ त १७२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बर्ष ३५ वर्षीय नरेन्द्रराज भट्टराईको उक्त ट्याक्टरबाट खसेर सोमबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, बेलकोटगढी नगरपालिका-७ बुद्धसिंङघाटस्थित सडकमा बा.६३ प १८२६ नम्बरको मोटरसाइकल सोमबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-७ चैनपुर बस्ने ३२ वर्षीया आरती श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी आरतीको बाँसबारी न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ ज्वालामुखी गाउँपालिका-७ चैनपुर बस्ने तिलक श्रेष्ठको अन्नपूर्ण न्युरो अस्पताल माईतीघरमा उपचार भइरहेको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-४ गछियास्थित सडकमा को.३१ प ८८३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय धिरेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१६ कुकुरमारास्थित सडकमा लु.१८ प ३०८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ पृथ्वीबस्ती बस्ने २४ वर्षीय विशाल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।