neapl investment mega bank

राजश्व छली रोक्न २१ पाइले अभियान

Jan 28th, 2020

महोत्तरी, १४ माघ (रासस)

राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ ।

महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिनुभएको हो ।

“हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भन्नुभयो, “राजश्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै गुड्ने हुन्, राजमार्गको चौडाइ २१ पाइलामा तय गर्न सकिन्छ, यति दूरी इमान्दारीका साथ तय गरे राजश्व छली नियन्त्रण गर्न सकिन्छ ।” अहिले राजश्व छलीको अनुगमन ढुवानी साधन तथा बिलबिजक अनुगमन प्रणालीले व्यवस्थित गरेको हुँदा इमान्दार प्रयत्नले सहजै राजश्व छली रोक्न सकिने उहाँको भनाइ छ ।

“हामीले पछिल्लो १५ महिनायता राजमार्गमा राजश्व छली नियन्त्रणका लागि यही २१ पाइले अभियान चलाउँदै आएका छौँ”, कार्यालय प्रमुख बिसीले भन्नुभयो, “छोटकरीमा भन्दा भिसीटिएस भनिने ढुवानी साधन तथा बिल बिजक अनुगमन प्रणालीले सम्बद्ध व्यापारिक प्रतिष्ठान, व्यापारी र राजश्व अनुसन्धानका क्षेत्रमा कार्यरत कर्मचारी सबैलाई ऐनाजस्तै छर्लङ्ग बाटो देखाएको छ, त्यो अनुशरण गरिए समस्या सबै सुल्झन्छ ।” आइतबार र सोमबार बर्दिवासचोकमा राजमार्गमा गुडेका मालवाहक सवारीसाधनको अनुगमनकै क्रममा ५० मध्ये अधिकांश सवारी साधनमा राखिएका सामान भन्सार कार्यालयमा दर्ता तन्दुरुस्त नभई आएका पाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारले व्यवस्थित गरेको भिसीटिएस व्यवस्थाभित्र भन्सार आयात, उद्योगी व्यवसायी, थोक बिक्रेता र ढुवानीका साधनको अन्तरङ्ग सम्बन्ध हुने प्रमुख बिसीको भनाइ छ । “धेरै लामो र बाङ्गोटिङ्गो कुरा छैन, आयात भएका सामान भन्सार कार्यालयमा दर्ता हुनप¥यो, सामान ल्याउने ठूला कम्पनी ९उद्योगी, व्यवसायी० ले मेरा यी सामान छन् भन्नुप¥यो, थोक बिक्रेताले व्यापारिक कम्पनीसँग लिएका सामान यकिन गर्नुप¥यो र ढुवानी गर्ने साधनले यी साधन लिएर हिँड्दैछु भन्ने ठेगान गरेपछि राजश्व छलीको गुञ्जाइस रहन्न, यहाँ कोइ चुके राजश्व अनुसन्धानका कर्मचारी चुक्नु भएन”, उहाँले भन्नुभयो । यतिमात्रले राजश्व सङ्कलनको सफा बाटोबाट सुरक्षित यात्रा हुने बिसीले बताउनुभयो । यद्यपि अनलाइन दर्ताको सहज व्यवस्था भए पनि आम व्यापारी भिसीटिएसमा आबद्ध भने नभएका पाइएको छ । मुलुकभर अहिले ७३ हजार कारोवारी मात्र यस प्रणालीमा आबद्ध भएका बिसीको भनाइ छ ।

भिसीटिएसले छलछाम, जालझेल र झुठो व्यहोरा राजमार्गको २१ पाइलाभित्र नै समात्न सक्ने भएको हुँदा सुरक्षित कारोवारका लागि यस प्रणालीमा आबद्ध हुनु व्यापारीको हितमा रहेको छ । छड्के अनुगमन प्रचारात्मक र सचेतनाका लागि भएको बिसीले बताउनुभयो । “हामीले व्यापारिक कारोवार सफा र स्वच्छ राख्न बर्दिवासका उद्यमी, व्यापारीलाई आग्रह गरेका छौँ”, बिसीले भन्नुभयो, “नबुझेर, नजानेर राजश्व छल्ने कुरा हुँदैन, यो जानाजान अटेर गरिएको हो”, यद्यपि सच्चिन मौका भने दिइने बिसीको भनाइ छ ।

भिसीटिएस मुलुकको समृद्धि अभियानसँग जोडिएको सम्बद्ध अधिकारीको भनाइ छ । कर प्रणाली सुव्यवस्थित भए मुलुकको भकारी समृद्ध हुने उहाँले बताउनुभयो । भिसीटिएसले राजश्व छली गर्ने जोसुकैलाई पहिलोपटक ५० हजार, दोस्रोपटक एक लाख र त्यसपछि कसुरअनुसार जरिवाना र अन्य कारवाही थप्ने व्यवस्था गरेको सम्बद्ध कर्मचारीले बताएका छन् ।