neapl investment mega bank
  • गृहपृष्ठ
  • भरतपुर विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

भरतपुर विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

Jan 27th, 2020

काठमाडौँ, १३ माघ (रासस)

चितवनस्थित भरतपुर विमानस्थल विस्तारको कार्यलाई प्रभावकारी रूपमा अघि बढाइनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर विमानस्थल विस्तारको सम्भावना र चुनौतीको विषयमा आज भएको सर्वपक्षीय छलफलका वक्ताले देशकै मध्यभागमा रहेको विमानस्थलको विस्तार र स्तरोन्नति गरिनु अपरिहार्य भएको बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारीलगायतको सहभागिता थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति अनिवार्य भएको बताउँदै सरोकारवाला मन्त्रालय र निकायको समन्वयमा भइरहेको कार्यप्रति खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले चितवनको बढ्दो तीव्र शहरीकरणले सुरक्षित र व्यवस्थित विमानस्थल अनिवार्य भएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भरतपुर विमानस्थल विस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्णरूपमा सहयोग गर्ने बताउनुभयो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताउनुभयो । सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख दाहालले भरतपुर विमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई वाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले चितवन शैक्षिक तथा ‘मेडिकल हव’को रुपमा विकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्यधिक बढिरहेको बताउनुभयो ।

छलफल कार्यक्रममा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको आवश्यकता, प्राविधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।