neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘देशको सेवा गर्दा खुट्टा गुम्यो, घर बनाउने सपना अधुरै रह्यो’

‘देशको सेवा गर्दा खुट्टा गुम्यो, घर बनाउने सपना अधुरै रह्यो’

Jan 27th, 2020

–दीपक बोहरा
तुलसीपुर, १३ माघ (रासस)

दाङको दंगीशरण गाउँपालिका–२ का नोखिराम विक नेपाली सेनामा जागिरे भएपछि घर बनाउने सपना बोक्नु भएको थियो । जागिरे जीवनको १४ वर्ष चल्दै थियो । ‘रिटायर्ड’ हुन ६ वर्ष बाँकी रहँदा पनि उहाँको त्यो सपना पूरा हुन सकेन्, उल्टै उनको जीवनमा बज्रापात भयो । ‘फास्ट ट्रयाक’का लागि नजगढमा सडक बनाउने काम चलिरहेका बेला ढलेको रुख उनको खुट्टामा प¥यो । गम्भीर घाइते भएका उहाँको उपचार गराउँदा पनि खुट्टा निको भएन्, उल्टै खुट्टा काट्नु प¥यो । त्यसपछि उनका सपना, सपनामा नै सीमित बने ।

“मैले सेनामा जागिर हुँदा एउटा घर बनाउँला भन्ने सोचेको थिए” उहाँले भन्नुभयो, “तर उल्टै खुट्टा नै गुमाउनु प¥यो ।” अहिले उनका दुई सन्तान छन् । एउटा छोरी र एउटा छोरा छ । उनीहरुलाई कसरी पढाउने भन्ने चिन्ता छ । “आफ्नो घर छैन, बजारमा भाडामा बस्दै आएको छुँ, दैनिकी चलाउन निकै समस्या हुने गरेको छ” उहाँले भन्नुभयो, “छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ ।” देशकै सेवा गर्ने क्रममा आफूले खुट्टा गुमाउनु परेको भन्दै राज्यले यसको क्षतिपूर्ति दिनुपर्ने उहाँको माग थियो ।

सैनिक सम्मेलन भेटघाटको सुनौलो अवसर

तीन/तीन वर्षमा यसरी सैनिक सम्मेलन हुनेगर्छ । दाङमा आइतबार सैनिक सम्मेलन भयो । जहाँ साविक राप्तीका भुतपूर्व सैनिकहरुको सहभागिता थियो । यो सम्मेलनले भूतपूर्व सैनिकहरुका बीचमा भेटघाट, चिनजान र अनुभव साट्ने सुनौलो अवसर प्रदान भएको भूतपूर्व सैनिक अम्मरबहादुर श्रेष्ठले बताउनुभयो । “तीन वर्षअघिदेखि यसरी सैनिक सम्मेलन हुने गरेको छ” उहाँले भन्नुभयो, “यसले पूर्वसैनिकहरुका अनुभव आदानप्रदान गर्ने एउटा सुनौलो अवसर प्राप्त हुने गरेको छ ।” यो पूर्वसैनिकहरुका कुराहरु राज्यलाई सुनाउने माध्याम पनि बनेको उनले बताए । अहिले आफूहरुलाई राज्यले दिएको सेवा सुविधाप्रति सन्तुष्ट रहेकोसमेत उनको भनाइ थियो ।

राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ : प्रधानसेनापति

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताउनुभयो । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ” उहाँले भन्नुभयो “देशलाई अप्ठेरो पर्दा, देशलाई अन्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”

पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नेपाली सेनामा उत्साह, जोस, जाँगर, इमान्दारिता भएकै कारण विश्वमै प्रशंसा गर्न लायक रहेकोसमेत बताउनुभयो ।

मुलुकको स्वाधीनता र सर्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उहाँको भनाइ छ । उहाँले नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने भन्दै सेनाको यो पहिचानलाई जोगाई राख्नुपर्ने समेत बताउनुभयो । साथै नेपाली सेनाले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, ऐतिहासिक युद्ध स्थलको संरक्षण सम्बद्र्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोषमार्फत नेपाली सेनालाई आयआर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सैनिकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको संस्कार र पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।