–सञ्चिता घिमिरे र सुभानु आचार्य
काठमाडौँ, १० माघ (रासस)
नेपालमा कुष्ठरोग निवारणको घोषणा भएको झण्डै नौ वर्ष बिते पनि वर्षेनी झण्डै तीन हजारका हाराहारीमा नयाँ बिरामी देखा परिरहेका छन् । आव २०७५/७६ मा देशभरमा तीन हजार २८२ नयाँ बिरामी पत्ता लागेको स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रका रुपमा कुष्ठरोगका बिरामी घटाउनुपर्ने झनै बढिरहेको यस क्षेत्रमा कार्यरतले बताउँदै आएका छन् । नेपालमा सन् २०१० मा नेपाल सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको थियो तर त्यसयता पनि वर्षेनी झण्डै तीन हजारको हाराहारीमा नयाँ बिरामी फेला परिरहेका छन् ।
साना बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । देशभरमा गत वर्ष मात्रै १४ वर्षमुनिका ३३७ बिरामी फेला परे । यो रोग लागेका व्यक्ति सामाजिक बहिस्कारमा पर्ने डरका कारण रोग लुकाउन बाध्य भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रोग लाग्नासाथ निको हुने भए पनि लामो समयसम्म लुकाउँदा त्यसले ठूलो रुप लिने गरेको छ ।”
सरकारले रोग निवारण गरेको नौ वर्षपछि १७ जिल्लामा निवारण नभएको स्वास्थ्य सेवा विभागकै तथ्याङ्कले देखाएको छ । प्रति १० हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारण भएको मान्दछ । नौ वर्ष पहिले देशभरमा रोग निवारणको घोषणा गर्दा प्रति १० हजार जनामा ०.७९ प्रतिशत रहेको थियो भने गत वर्ष प्रकोप दर ०.९९ प्रतिशत रहेको थियो ।
आनन्द वन अस्पतालका तालीम अधिकृत राजकुमार पौडेलले प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको चाप बढी रहेको पाइएको बताउनुभयो । धनुषा, बारा, बर्दियालगायतका जिल्लामा नयाँ रोगी बढी सङ्ख्यामा भेटिरहेको छ । कुष्ठरोगको उपचारमा ढिलाइ हुँदा धेरैमा अपाङ्गता भइरहेको उहाँले बताउनुभयो ।
अहिले पनि रोग लागेका व्यक्तिलाई हुने सामाजिक विभेद र रोगलाई देवी देवताको श्रापका रुपमा लिने प्रवृत्तिकै यो रोग लागेका व्यक्तिले समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुगेका हुन् । रोग निवारणको घोषणा भएकाले सरकार र गैरसरकारी संस्था दुवैले यसलाई कम प्राथमिकता दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रोगको समस्या छैन भनेर बजेट घटिरहेको छ तर नयाँ रोगी पत्ता लागिरहेको छ ।”
विश्व स्वास्थ्य सङ्गठनले रोग लाग्ने, सर्ने र अङ्गभङ्ग हुने व्यक्तिको सङ्ख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको पौडेलले बताउनुभयो । सङ्गठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन भने पनि नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी र महलमा कुष्ठरोग लागेका व्यक्तिसँग विवाह गर्न÷गराउन नहुने भनी व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “रोगप्रतिको गलत धारणा हटाउन नसकेसम्म कानूनमा रहेको विभेद कायम रहन्छ ।”
आनन्द वन अस्पतालमा कार्यरत डा महेश साहले यो रोगप्रतिको गलत धारणा विस्तारै कम भए पनि पूरै हट्न नसकेको बताउनुभयो । यो रोग साना बालबालिकादेखि ज्येष्ठ नागरिकसमेत लाग्ने अस्पतालमा आउने बिरामीका आधारमा देखिएको छ । अस्पतालमा उपचारका लागि आउनेमा युवाको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो, “परिवारको जिम्मेवारी लिनुपर्ने समयमा आफैँलाई रोग लागे पनि परिवार नै समस्यामा पर्छ ।”
यो रोग प्रतिरोध खोप नभएका कारण रोगको शङ्का लाग्नासाथ चाँडोभन्दा चाँडो स्वास्थ्य संस्था पुगेर उपचार शुरु गर्नुपर्ने डा साहले बताउनुभयो । समयमा उपचार हुँदा अङ्गभङ्ग हुनबाट जोगिन सकिने उहाँको भनाइ छ । यो रोग नेपालबाट हटिसकेको भन्ने चिकित्सकमा समेत भ्रम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो रोगका बारेमा आमनागरिकलाई मात्रै नभएर स्वास्थ्यका क्षेत्रमा काम गर्नेलाई समेत बुझाउन जरुरी छ ।”
‘माइक्रोब्याक्टेरियम लेप्रे’ नामक कीटाणुका कारण यो रोग लाग्छ । कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकिएन भने यो रोग लाग्छ । विभिन्न अध्ययनले कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि पाँच प्रतिशतलाई मात्र रोग लाग्ने देखिएको छ । बाँकी ९५ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ ।
कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन । उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अङ्गभङ्गको अवस्था आउँछ ।
द लेप्रोसी मिसनद्वारा सञ्चालित लेप्रोसी अस्पतालमा गत वर्ष छ हजार १८६ बिरामीले उपचार गराएका थिए । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको सङ्ख्या ८६५ थियो । अस्पतालले कुष्ठरोग प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पु¥याउँदै आएको छ ।