neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Jan 24th, 2020

काठमाडौं, १० माघ

सर्लाही, कञ्चनपुर, महोत्तरी र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।


सर्लाही, लालबन्दी नगरपालिका १० स्थित सडकमा ना।२ ह ४३६३ नम्बरको अटोबाट बिहीबार दिउँसो लडेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको टेकसास अस्पताल लालबन्दी हुँदै समर अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका ४ चम्मनचोकस्थित सडकमा बिहीबार दिउँसो से.१ क ८८७ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोला घर भई हाल भीमदत्त नगरपालिका १८ गोबरिया बस्ने २० वर्षीया रमिता भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, एकडारा गाउँपालिका १ स्थित सडकमा ज.१ त ९८६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा तुल्सियाही बस्ने २१ वर्षीय रामकुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी, गैंडाकोट नगरपालिका १० पितौजीस्थित सडकमा शुक्रबार बिहान ना.२ ख ९२६४ नम्बरको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।