neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्ध्याकरण गराउँदैै कुकुरलाई जुकाको औषधि खुवाइयो

बन्ध्याकरण गराउँदैै कुकुरलाई जुकाको औषधि खुवाइयो

Jan 24th, 2020

दमौली, १० माघ (रासस)

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ । “छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा श्रेष्ठले भन्नुभयो ।

आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिनुभएको छ । बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् ।