neapl investment mega bank
  • गृहपृष्ठ
  • पुनर्संरचना सम्वन्धी पुटिनको प्रस्ताव गहन छलफलै नगरी संसदबाट पारित

पुनर्संरचना सम्वन्धी पुटिनको प्रस्ताव गहन छलफलै नगरी संसदबाट पारित

Jan 24th, 2020

मस्को, १० माघ (रासस/एएफपी)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् ।

बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् ।

संसदको तल्लो सदनमा रहेका कुल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो ।

राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गर्नुभएको थियो ।

“यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,” सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भन्नुभयो ।

बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ ।

संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उहाँको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ ।

राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पार्नुभएको हो भने उहाँले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्नुभएको थियो ।

तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उहाँले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसक्नु भएको छ ।

राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्था अनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ ।