जेरुसेलम, ८ माघ (रासस/सिन्ह्वा)
फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले बुधबार इजरायलको भ्रमण शुरु गर्नुभएको छ ।
उहाँले भ्रमणको पहिलो दिनमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता पनि गर्नुभएको जनाइएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रपति म्याक्रोनलाई प्रधानमन्त्री नेतान्याहु र उहाँकी श्रीमतीले संयुक्त रुपमा स्वागत गर्नुभएको थियो । उहाँहरुका बीचमा जेरुसेलमस्थित इजरायली प्रधानमन्त्रीको निवासमा भेटवार्ता भएको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा लेखिएको छ, ‘उहाँ (फ्रान्सेली राष्ट्रपति म्याक्रोन) र प्रधानमन्त्री नेतान्याहुले खानासहितको भेटवार्ता गर्नुभएको हो ।’ उहाँहरुले इरान र प्यालेस्टायनसँग सम्बन्धित विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् । म्याक्रोनले इजरायली विपक्षी दलका नेता बेन्नी गान्टज, प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बासलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।फ्रान्सेली राष्ट्रपति म्याक्रोन इजरायलको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति अवतरण गर्नुभएको हो ।