neapl investment mega bank
  • गृहपृष्ठ
  • गोकर्णेश्वर नगरपालिकाले देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाले देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव गर्ने

Jan 22nd, 2020

काठमाडौं, माघ ८

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । “भैरव अर्याल, रमेश विकल जस्ता महान् स्रष्टाहरुको जन्मभूमि तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु प्रतियोगिताको लक्ष्य रहेको छ ” मेयर चालिसेले भन्नुभयो ।

महोत्सवलाई सफल बनाउन मेयर चालिसेको संरक्षकत्व एवं साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशको संविधान र कानुन विरुद्ध नहुने शीर्षकमा आधारित बढीमा २ सय शब्द सहितको कविता, प्रतियोगिताका लागि योग्य मानिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरु छुट्टयाएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरु मध्येबाट प्रदेश स्तरको उत्कृष्ट तीन कविताहरु छुट्याइने महोत्सव संयोजक घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्नका लागि स्थापित मूल्यांकन पद्धतिको आधारमा विज्ञ समुहबाट मूल्यांकन गराइने र उक्त मूल्यांकनबाट उच्चतम श्रेणीमा आएका कविताहरुमध्ये बढीमा ४० जना सम्मलाई वाचनको लागि सिफारिस गरिने भएको छ ।

पुरस्कार पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुई समेत गरी पाँच जनालाई क्रमश ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रति प्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साहित्यकारहरु गोविन्द घिमिरे वेदमणि, डाक्टर विदुर चालिसे लगायतले प्रतियोगिताको महत्वबारे प्रकाश पार्नु भएको थियो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्यलाई प्रतियोगिताको सदस्य सचिव तोकिएको छ । प्रतियोगिता गोकर्णेश्वर नगरपालिका –८ आरुबारी चोकमा हुनेछ ।