–भूपेन्द्रसिंह विष्ट
परशुरामधाम, ८ माघ (रासस)
सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन हुने बताउनुभएको छ ।
मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताउनुभयो । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसद्मा पेश गर्ने र संसद्बाट पास हुने उहाँको दाबी छ । “एमसीसी परियोजना कुनै सैन्य परियोजना हैन । हातहतियार र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,” उहाँले भन्नुभयो, “एमसीसी विकास परियोजना हो । नेपालका लागि आवश्यक पनि छ ।” एमसीसी परियोजना कार्यान्वयनमा लगिने उहाँको भनाइ थियो ।
पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उहाँको तर्क थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उहाँको भनाइ थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका मन्त्री ढकालले संसद्मा लगेका विधेयकहरू विधि प्रक्रियाबाटै लगेको जानकारी दिनुभयो । संसद्मा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकमा केही कमी भए सुधार गरेर पास हुने उहाँको भनाइ थियो । “संसद्मा सरकारले पेश गरेको विधेयकमा केही कमी छन् भने सुध्रिएर पास हुन्छन्”, उहाँले भन्नुभयो, “सार्वभौम संसद्ले त्यसलाई परिमार्जन गर्न सक्छ ।”