neapl investment mega bank
  • गृहपृष्ठ
  • मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु

मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु

Jan 21st, 2020

काठमाडौँ, ७ माघ (रासस)

मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो ।


सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो । अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको उहाँले बताउनुभयो । अहिले सडकको ट्र्याक खोल्ने काम सकिएको छ । उहाँले भन्नुभयो,“मालबाहक सवारीसाधन सो सडकमा गुडिरहेका छन् ।” आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर मात्रै खानेपानी लैजानुपर्ने बताउँदै आएका थिए । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई लक्षित गरी सरकारले खानेपानीको व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेलगायतका काम शुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा समितिले स्थानीयवासीको माग सम्बोधनमा ध्यान दिएको हो । यसअघि नै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यहाँ कार्यरत कामदारको भुक्तानी गरिसकेको छ ।

इटालीको कम्पनी सिएमसीले भुक्तानी बाँकी कामदारमध्ये अधिकांश स्थानीयवासी नै छन् । अझैसम्म आपूर्तिकर्ताको भुक्तानी भने हुन बाँकी छ । आपूर्तिकताको भुक्तानी कति बाँकी छ भन्ने अध्ययन गर्न मन्त्रालयमा समिति गठन भएको छ ।