neapl investment mega bank
  • गृहपृष्ठ
  • सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हट्यो

सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हट्यो

Jan 21st, 2020

भोजपुर, ७ माघ (रासस)

पाथीभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नका लागि सहजता थपिएको हो ।
जिल्लामा सवारीसाधन सिक्न प्रशिक्षण केन्द्र नहुँदा स्थानीयवासीलाई निकै सास्ती हुँदै आएको थियो । अब सवारीसाधन सिक्न धरान, विराटनगर तथा काठमाडौँ धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छ । स्थानीयको समय र खर्चको बचत भएको छ । स्थानीय प्रशिक्षार्थी भीमबहादुर तामाङले भन्नुभयो, “पछिल्लो समय जिल्लामा सवारी साधन सिक्ने केन्द्र सञ्चालनमा आएपछि धेरै सहज भएको छ । सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।”

सहजरूपमा सवारीसाधनको सीप लिन पाउँदा स्थानीय युवा खुशी भएका छन् । स्थानीय तहले युवालाई स्वरोजगार बनाउनका सवारीसाधन सञ्चालन तालीम राख्नुपर्ने स्थानीयवासीको बताउँछन् । भोजपुर नगरपालिका–७ का प्रशिक्षार्थी समिर मोक्तानले भन्नुभयो, “आफ्नै ठाउँमा सीप सिक्न पाउनु निकै राम्रो अवसर हो, यसरी सीप सिकेपछि स्वरोजगार बन्न टेवा पुग्ने देखिन्छ, स्थानीय सरकारले आगामी दिनमा युवालाई स्वरोजगार बन्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ ।”

स्थानीय युवा सुमन प्रधानले सदरमुकामबाट दुई किलोमिटर पश्चिममा रु १२ लाख लगानीमा पाँच रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । शुरुआती चरणमै सवारी सिक्नेको सङ्ख्या धेरै रहेकाले त्यसलाई समय निर्धारण गरेर प्रशिक्षण दिँदै आएको सेन्टरले जनाएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीको सेवालाई ध्यानमा राखेर सेन्टर सञ्चालनमा ल्याएको हँु, यसप्रति स्थानीयवासीको मोह बढ्दै गएको छ, यहाँ सिक्ने कतिपय स्वरोजगारसमेत बनेका छन् ।” पछिल्लो समय बिना सीप सवारीसाधन चलाउँदा दुर्घटनाको क्रम बढ्दोरहेको बताइएको छ ।