neapl investment mega bank
  • गृहपृष्ठ
  • केन्द्र देखि तह सम्म भ्रष्टाचारको जालो : अख्तियारमा एक वर्षमा २४ हजारभन्दा बढी परे उजुरी

केन्द्र देखि तह सम्म भ्रष्टाचारको जालो : अख्तियारमा एक वर्षमा २४ हजारभन्दा बढी परे उजुरी

Jan 13th, 2020

काठमाडौँ, २८ पुस

पछिल्लो समय भ्रष्टाचार बढ्दो छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म जरा गाडेको भष्टाचारले मुलुक आक्रन्त भएको छ । एक वर्षमा मात्र देशभर २४ हजार वटा भ्रष्टाचारका घटना हुने गरेको पाइन्छ ।

अख्तियार दुरुपयोग अनुसंन्धान आयोगमा आर्थिक वर्ष २०७५/ ७६ मा १४ हजार एक सय ७१ र मातहतका कार्यालयहरुमा ९ हजार ९ सय १४ गरी कुल २४ हजार ८५ उजुरी परेका छन ।

अख्तियार दूरुपयोग अनुसंन्धान आयोगले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति समक्ष प्रस्तुत गरेको २९ औं वार्षिक प्रतिवेदन अनुसार विभिन्न माध्यमबाट आएका यस्ता उजुरी उपर छानविन पनि भैरहेको छ ।

आयाजमा परेका उजुरीमध्ये ७ हजार ८८ उजुरी आर्थिक वर्ष २०७४ /७५ बाट जिम्मेवारी सरेर आएका र १६ हजार ९ सय ९७ उजुरी आर्थिक वर्ष २०७५/७६ मा थप भएर आएको आयोगले जनाएको छ ।

६४ दशमलव ४७ प्रतिशत उजुरी फछ्र्यौट

आयोगका अनुसार कुल २४ हजार ८५ उजुरीमध्ये १५ हजार ५ सय २७ उजुरी अर्थात ६४ दशमलव ४७ प्रतिशत फछ्र्यौट भइसकेको छ । बाँकी ८ हजार ५ सय ५८ उजुरी आर्थिक वर्ष २०७६/७७ का लागि सरेको आयोगको भनाइ छ ।

फछ्र्यौट भएका उजुरीमध्ये ८ सय ८१ वटालाई विस्तृत अनुसन्धानमा तानिएको छ भने ८ हजार ९ उजुरीलाई अन्य आवश्यक कारवाहीका लागि पठाइएको आयोगको भनाइ छ ।

त्यस्तै फछ्र्यौट भएका उजुरीमध्ये ६ हजार ४७ उजुरी प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको छ भने ५९० उजुरीलाई सुझावसहित तामेलीमा पठाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार संघीय मामिलासँग सम्बन्धित उजुरी धेरै रहेका छन् २६ दशमलव ८७ प्रतिशत उजुरी संघीय मामिला अन्तर्गत रहेको छ भने शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १६ दशमलव ९५ प्रतिशत, भूमिसँग सम्बन्धित ८ दशमलव ३४ प्रतिशत उजुरी छन् ।

यसैगरी वन तथा वातावरणसँग सम्बन्धित उजुरी ४ दशमलव ६० प्रतिशत, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३ दशमलव ९८ प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ३ दशमलव ५४ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायाततर्फ ३ दशमलव ४२ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिंचाईतर्फ २ दशमलव ६२ प्रतिशत, अर्थसँग सम्बन्धित २ दशमलव ३३ प्रतिशत उजुरी छन् ।

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित उजुरी ८ दशमलव ५३ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनसँग ७ दशमलव ६१ प्रतिशत र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरी ११ दशमलव ५२ प्रतिशत उजुरी छन् ।