काठमाडौं, ९ असोज
देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । एक बैठकमा उनले मन्त्री र सचिवलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका हुन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्नेमा जोड दिए । उनले यस दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बर रुपमा काम गर्नुपर्ने अथ्र्याए ।
प्रधानमन्त्रीले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनाको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन मन्त्रीसंग आग्रह गरे ।
बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । यसैगरी प्रभानमन्त्रीले समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गराए ।
साथै प्रधानमन्त्रीले राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने वताए । देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शिता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीसँगको कार्यसम्पादन सम्झौतानुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरेको थियो ।