neapl investment mega bank

माघीसँगै थारूको बड्घर छान्ने प्रचलन

Jan 12th, 2020

– शुरबहादुर सिंह सुर्खेत, २७ पुस (रासस)

थारू जातिको मुख्य चाड माघी र दशैँ हो । माघी उनीहरुको नयाँ वर्ष पनि हो । विशेष महत्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नव वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निक्र्यौल गर्दछ ।

पुस २९ गते थारू जातिहरु रातभरि जाग्राम बस्छन् । त्यो दिन ठूलादेखि केटाकेटी सबैले आलु चोर्छन् । चोरेको आलु पोलेर खाने चलन छ । उक्त दिन आलु चोर्दा कसैले गाली गर्न पाउँदैन । आलु चोर्नु र पोलेर खान पाउनुलाई विशेष मज्जा ठान्ने चलन छ । जाग्रामको रात उनीहरु सबैले नाचगान गर्दछन् ।

वीरेन्द्रनगर नगरपालिका–९ पातालगङ्गा सुर्खेतका थारू मुखिया ६७ वर्षीय धनीराम थारू भन्नुहुन्छ, “हामी पुस २९ को रातभरि जाग्राम बस्छौँ । रातभरि जाग्राम रही एकाबिहानै नुहाएर नयाँ वर्ष माघ १ गतेलाई स्वागत गर्छौं । नयाँ पोसाक लगाउँछौँ । गणेश देवताको पूजा गर्छौं । दशैँमा भने आफ्नै कुलदेवताको पूजाआजा गरिन्छ ।”

उहाँका अनुसार उक्त दिन थारूहरुले बँदेल काट्छन् । उनीहरुले गणेशलाई जगन्नाथ देवताका रुपमा पुज्छन् । देवतालाई मिन्नीडेना ९जाँडको जल० छर्कछन् । पूजापश्चात् सबै जम्मा भएर मुख्यगरी ढिकुरी, बङ्गुरको मासु, रक्सी, अचार र तरुल खाने प्रचलन छ ।

माघ २ गते भने थारूको जातिको बडघर ९नेतृत्व० छान्ने दिन भएको थारू अगुवा धनीरामले बताउनुभयो । यसलाई थारु भाषामा महटाँवा ९मुखिया० छान्ने दिन पनि भनिन्छ । थारू जातिमा प्रत्येक नयाँ वर्षसँगै नयाँ महटाँवा चुन्ने चलन छ । मुखिया ९महटाँवा० समुदायको अध्यक्षका रुपमा पनि ठानिन्छ । उसले थारू समुदायलाई वर्षभरि हुने सामाजिक, सांस्कृतिक र आर्थिक नेतृत्व गर्दछ ।

जन्म, मृत्यु, विवाह, व्रतबन्धलगायत विभिन्न गतिविधिमा उसको निर्णय लिएर समुदाय चल्छ । सोही दिन हली बस्ने वा छाड्ने भन्ने कुराको निक्र्योल पनि गरिन्छ । विगतमा साहु महाजनहरु कहाँ कमाराकमारी, कम्लहरी बस्ने प्रचलन पनि थियो । पछिल्लो समयमा यो चलन यत्रतत्र देखिए पनि त्यो हट्दै गएको छ ।

बर्सेनी माघ २ गते महटाँवा छान्ने प्रचलन भए पनि वीरेन्द्र नगरपालिका–९ सुर्खेत पातालगङ्गामा धनीराम थारू विगत २५ वर्षदेखि मुखियामा अनुमोदित हुँदै आउनुभएको छ । थारूको सामाजिक, सांस्कृतिक तथा अन्य व्यावहारिक पक्ष कुशल नेतृत्व दिएका कारण वर्षपिच्छे सबैले उहाँलाई नै महटाँवा दिने गरेको स्थानीय ४८ वर्षीय रामप्यारी चौधरीले बताउनुभयो ।

पातालगङ्गामा हाल थारू जातिको ८० घरधुरी सङ्ख्या रहेको जनाइएको छ । त्यसको नेतृत्व धनीरामले नै गर्दै आउनुभएको छ । आफूलाई दाङ जिल्लाबाट आएको डगौरा थारूको परिचय सुर्खेतका थारूहरुले दिँदै आएका छन् ।

थारू बस्तीमा घरवास (होमस्टे)

वीरेन्द्रनगर नगरपालिकामा नौ, पातालगङ्गामा पाँचवटा थारू घरवास (होमस्टे) पनि रहेका छन् । होमस्टे सञ्चालन गरेको एक वर्ष भएको स्थानीयवासी धनबहादुर चौधरीले जानकारी दिनुभयो । थारूहरुको सामाजिक, धार्मिक, सांस्कृतिक पक्षको पहिचान गराउनाका साथै मौलिक परिकार चखाएर गाउँमै आयआर्जन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक भागिराम चौधरीले बताउनुभयो ।

प्रचारप्रसार नभएकाले अहिले स्वदेशी पाहुनाहरु मात्र होमस्टेमा आउने गरेको उहाँको भनाइ थियो । थारू अगुवा धनीराम थारूले अहिलेसम्म आएका पाहुनालाई दिनुपर्ने शुल्क निर्धारण नगरेको बताउनुभयो ।

“अहिलेसम्म आएका पाहुनालाई थारू परिकार खुवाएर हामीले उनीहरुको खुशीअनुसार शुल्क लिएका छौँ,” उहाँले भन्नुभयो, “अब हामी होमस्टेलाई व्यवस्थितरुपले सञ्चालन गर्छौं ।” उहाँका अनुसार त्यहाँ आउने पर्यटकहरुले थारू संस्कृतिका खाद्य परिकार, पोसाक, भाँडावर्तन, पेशा र इतिहासबारे जानकारी लिन पाउनेछन् ।

होमस्टेले थारू संस्कृतिको संरक्षण र दिगो जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको अपेक्षा छ । हाल वीरेन्द्रनरगर नगरपालिका–९ को पातलगङ्गा र १० कुन्ती, घुस्रा, नयाँ गाउँ सुर्खेत मध्यपश्चिम विश्वविद्यालयको अध्यययन अनुसन्धान गर्ने मुख्य स्थल बनेको उक्त विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय लोकवार्ता विज्ञानका विभागीय प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।