neapl investment mega bank
  • गृहपृष्ठ
  • राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो

राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो

Jan 11th, 2020

हेटौँडा, २६ पुस (रासस)

प्रदेश नं– ३ को प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पनि राजधानीको सम्भाव्यता अध्ययन टोलीको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । प्रदेशको विकासको पूर्वाधारलाई एकै ठाउँबाट सेवा सुविधा प्रवाह गर्ने कार्यलाई स्वच्छता प्रदान गर्न सत्तारुढ र प्रतिपक्ष एकजुट हुनुपर्ने धारणा बैठकमा बोल्ने प्रदेशसभा सदस्यले राख्नुभएको थियो ।

सङ्घीय गणतन्त्रलाई दीर्घजीवन प्रदान गर्न राजनीतिक दलले गरेका त्याग तपस्यालाई उपेक्षा गर्न नहुने तर्क प्रस्तुत गर्दै राजनीतिक दल तथा सदस्यले राजनीतिक एजेण्डाभन्दा राष्ट्रको सार्वभौम एवं् राष्ट्रियतालाई दरिलो बनाउन दीर्घकालसम्म प्रदेशको राजधानीको महत्व रहने खालको सोचाइ राख्नुपर्दछ भन्नुभयो ।

सोही बैठकमा प्रदेशसभाका सदस्यले उठाउनुभएको विभिन्न राष्ट्रिय सरोकारको विषयमा राजधानीको सम्भाव्यता अध्ययन टोलीका संयोजक दीपक निरौलाले राष्ट्रिय सरोकारको विषयमा प्रदेश सरकारले आफ्नो जिम्मेवारीसाथ कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्दै टोलीले इमान्दारीपूर्वक तयार गरेको पाँच जिल्लाको नाम छलफलको लागि प्रस्तावित गरिएको हो भन्नुभयो । उहाँले कुनै जिल्लाको नाम स्पष्ट किटान नगरिएकाले प्रदेशसभाका सदस्यहरुको भावनाअनुसार आफ्नो अभिमत प्रकट गर्न स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउनुभयो । उक्त प्रतिवेदनमाथि पहिलो, दोस्रो र तेस्रो चरण गरी आजसम्ममा कूल ५७ जना प्रदेशसभाको सदस्यले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

शुक्रबारको बैठकमा राजधानी सम्भव्यता अध्ययन प्रतिवेदनमाथि १५ जना सदस्य छलफलमा सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाका सदस्य सरस्वती बाँचे, दीपेन्द्र श्रेष्ठ, मैया अछामी, शोभा शाक्य, सिर्जना सैजु, सीता अधिकारी, योगेन्द्रराज सङ्ग्रौला, कुसमकुमार कार्की, जुनेलीमाया श्रेष्ठ, कल्पना नेपाली, रजनी अमात्य जोन्छे, भीमसेन खत्री, कुमारी मोक्तान, केशव स्थापित र डा राजाराम कार्कीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि २५ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गर्नुभएको थियो ।