बेरूत, २६ पुस (रासस/सिन्ह्वा)
संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक सङ्कटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको लेबनानको राष्ट्रिय समाचार संस्थाले शुक्रवार जनाएको छ ।
युनिसेफले एक विज्ञप्ति जारी गरी भनेको छ, “लेबनानमा साना बालबालिकाहरूलाई आर्थिक सङ्कटको प्रभावबाट जोगाउन स्थानीय र अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र विभिन्न समाजले कडा परिश्रम गर्नुपर्छ ।”
विशेषगरी गरीब परिवारमा बस्ने बालबालिकाहरू आर्थिक गिरावटका कारण व्यापक चुनौतीहरूको सामना गरेका विज्ञप्तिमा उल्लेख छ ।
गरिबीले बालबालिकाको आहार, शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाब पार्नुका साथै उनीहरूको मनोभावना तथा भावात्मक तथा सामाजिक परिपक्वतालाई असर गर्ने यूनिसेफको भनाइ छ ।
लेबनानमा पछिल्लो तीन दशकदेखि कायम राजनीतिक अस्थिरताका कारण केही वर्ष यता चरम आर्थिक सङ्कट देखिएको र स्थानीय तथा बहुर्राष्ट्रिय कम्पनीहरूमा समेत यसको प्रभाव पर्दा श्रमिकहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाइरहेका छन् ।
यसले कतिपय परिवारले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत छोडेका वा सस्तो विद्यालयको खोजीमा अत्यधिक भार भएका सार्वजनिक विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।